सेबोनको अध्यक्षका लागि बाँकी तीन जनासँग आज अन्तर्वार्ता, डा. अधिकारी र श्रेष्ठमध्ये को बन्लान ?
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि बाँकी तीन जना उम्मेदवारहरूको अन्तर्वार्ता आज (असोज १८ गते) हुँदैछ। अर्थ मन्त्रालयमा आयोजित अन्तर्वार्तामा बोर्ड अध्यक्ष सिफारिस समितिले उम्मेदवारहरूसँग व्यावसायिक कार्ययोजना प्रस्तुतिकरणको माग गरेको हो।
अन्तर्वार्ताका लागि बोलाइएका उम्मेदवारहरूमा बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं रहेका छन्।
सिफारिस समितिले यसअघि पाँच जना उम्मेदवारलाई कार्ययोजना प्रस्तुत गर्न आह्वान गरेको थियो, तर दुई उम्मेदवारहरूमुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ बाहेक अन्य तीन जना अनुपस्थित भएका थिए। यस कारणले गर्दा अध्यक्षको नियुक्ति प्रक्रिया रोकिएको थियो। आज तीन जनाको अन्तर्वार्ता सम्पन्न भएपछि समितिले पाँच जना मध्ये मन्त्रिपरिषद्मा तीन जनाको नाम सिफारिस गर्नेछ।
सम्भावित अध्यक्षका रुपमा डा. नवराज अधिकारी र सन्तोषनारायण श्रेष्ठलाई बलियो मानिएको छ, जसमा कुनै एकलाई बोर्डको नेतृत्व सुम्पिने उच्च सम्भावना रहेको छ। अधिकारी सेबोनका कार्यकारी निर्देशकको रूपमा काम गरिसकेका छन्, जसले उनको बोर्डको भित्री संरचना र गतिविधिहरूमा राम्रो पकड देखाउँछ। उनले धितोपत्रको नीति निर्माण र नियमनमा गहिरो ज्ञान र अनुभव सँगालेका छन्, जसले उनलाई अध्यक्षका लागि एक उपयुक्त उम्मेदवार बनाएको छ। उनको व्यावसायिक योजना र सेबोनको भविष्यलाई सुधार गर्ने दृष्टिकोणलाई पनि सकारात्मक मानिएको छ।
यसअघि अध्यक्षको जिम्मेवारी सम्हालेका रमेशकुमार हमालको कार्यकाल समाप्त भएपछि सेबोन नेतृत्वविहीन बनेको थियो। नयाँ अध्यक्षको नियुक्तिसँगै लामो समयदेखि रोकिएको शेयर निष्कासन प्रक्रिया लगायतका कार्यहरू अघि बढ्ने अपेक्षा गरिएको छ। नियुक्ति प्रक्रियाले दशैँ अघि नै बोर्डले नयाँ अध्यक्ष पाउने सम्भावनालाई बलियो बनाएको छ।