चार कम्पनीको साधारण सभा आज बस्दै, कुनको कहाँ हुदैछ ?
काठमाडौं । आज असोज १८ गते शुक्रबार नेप्सेमा सूचीकृत ४ कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । यसदिन नेपाल ल्यूब आयल, अपर स्याङ्गे हाइड्रोपावर, बाराही हाइड्रोपावर र मोलुङ्ग हाइड्रोपावरको वार्षिक साधारण सभा बस्दैछ । यी मध्ये नेपाल ल्यूब आयलले मात्रै गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेको छ ।
नेपाल ल्यूब आयल
नेपाल ल्यूब आयल लिमिटेडलेको वार्षिक साधारण सभा याक प्लालेस, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । यस कम्पनीको सभाले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । सभामा कम्पनीले लाभांश सहित प्रिमियममा एफपीओ पनि जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले असोज ४ गते बुक क्लोज गरिसकेको छ । असोज ४ भन्दा अघिसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।
मोलुङ्ग हाइड्रोपावर
मोलुङ्ग हाइड्रोपावरको २ आर्थिक वर्षको वार्षिक साधारण सभा आज बस्दैछ । सभा बाघभैरव ब्यांकेट, नगाउँ दोबाटो, कीर्तिपुर, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष २०७९–८० र २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभाले नयाँ सञ्चालक समिति गठन गर्नेछ । सभा प्रयोजनका लागि यसले आगामी असोज २ गते बुक क्लोज गरिसकेको छ । असोज १ गते सार्वजनिक विदा थियो । तसर्थ, भदौ ३१ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
बाराही हाइड्रोपावर
बाराही हाइड्रोपावरको वार्षिक साधारण सभा गौरव इभेन्ट्स, गौतम प्लाजा, स्युचाटार–सालिक चोक, कलंकी, काठमाडौंमा बिहान ८ बजे सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनार्थ यस कम्पनीले असोज १० गते बुक क्लोज गरिसकेको छ । असोज ९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।
अपर स्याङ्गे हाइड्रोपावर
अपर स्याङ्गे हाइड्रोपावरको वार्षिक साधारण सभा कुण्डलिनी दरबार ब्यांकेट, चप्पल कारखाना चोक, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । यसले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभामा, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले असोज ४ गते बुक क्लोज गरिसकेको छ । तसर्थ असोज २ गतेसम्म कायम सेयरणधनीले मात्र सभामा भाग लिन पाउनेछन् । असोज ३ गते संविधान दिवसको अवसरमा सार्वजनिक विदा थियो ।