नेपाल–बंगलादेश र भारतबीचको त्रिपक्षीय सम्झौता उर्जा क्षेत्रका लागि कोशेढुङ्गाः उर्जामन्त्री खड्का

१७ आश्विन २०८१, बिहीबार १७:२९

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल–बंगलादेश र भारतबीचको त्रिपक्षीय उर्जा सम्झौता नेपालको उर्जा क्षेत्रका लागि कोशेढुङ्गा सावित भएको बताएका छन् । नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट वोर्ड र एनटिपिसि विद्युत व्यापार निगम भारतबीच भएको त्रिपक्षीय विद्युत सम्झौता कार्यक्रममा बोल्दै उर्जामन्त्री खड्काले नेपालको उर्जा क्षेत्रमा एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित भएको बताएका हुन् ।

मन्त्री खड्काले नेपालले इतिहासमै पहिलोपटक जलविद्युत उर्जा तेस्रो मुलुकमा निर्यात गर्ने भएकाले आजको कार्यक्रम नेपालको उर्जा क्षेत्रमा ऐतिहासिक भएको बताए । “आजको यो उपलब्धी सन् २०१८ देखि नेपाल र बंगलादेशले उर्जा क्षेत्र सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेपछि संयुक्त कार्यदल र संयुक्त सञ्चालन समितिको ६ वटा सफल बैठक तथा त्यसपछिको निरन्तर प्रयासको प्रतिफल हो,”– मन्त्री खड्काले भने ।

मन्त्री खड्काले बङ्गलादेशको नयाँ अन्तरिम सरकार र बंगलादेशीलाई मुलुक सुधारका एजेण्डामा सफलताको कामना गर्दै बधाई दिए । उनले सन् १९७२ देखि नेपाल र बंगलादेशबीचको कुटनीतिक सम्बन्ध भएदेखि सम्बन्धहरु सुमधुर र प्रगाढ हुँदै आएको उल्लेख गरे। सार्क सदस्य राष्ट्रको रुपमा बंगलादेशले क्षेत्रीय चासोका विषयमा खेल्दै आएको भूमिका सराहनीय रहेको उनको भनाइ छ ।

उर्जामन्त्री खड्काले नेपाल र बंगलादेशबीचको सम्बन्धलाइए उर्जा व्यापार सम्बन्धले जनस्तरमा नै थप सुदृढ एवम् प्रगाढ बनाउन मद्दत पुगको बताए । उनले बंगलादेशमा हालै भएको राजनीतिक परिवर्तनका क्रममा प्रभावित भई मृत्यु भएका परिवारहरुप्रति गहिरो समवेदना र आन्दोलनका क्रममा घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरे । तमाम चुनौतीका बाबजुद बंगलादेशले सामाजिक तथा आर्थिक पुर्नप्राप्ती गर्दै अगाडि बढ्ने मन्त्री खड्काले विश्वास व्यक्त गरे ।

उर्जामन्त्री खड्काले नेपालमा उत्पादित विद्युत सीमापार प्रसारण लाइनबाट बंगलादेश पुग्नका लागि कसहज बनाउन भारत सरकारको अटल एवम् निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरे । मन्त्री खड्काले नेपालले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट जलविद्युत उत्पादन गर्ने प्रतिवद्धता जनाएको र १५ हजार मेगावाट निर्यातका लागि छुट्याएकाले उक्त कार्यलेले नेपालको जलविद्युत क्षमताको उपयोग गर्दै दृढ संकल्पलाई झल्काएको बताए। “निर्वाध सीमापार उर्जा व्यापार आवश्यक छ, नेपाल कुशल र वातावरणमैत्री उर्जा स्रोतमा सुधारिएको पहुँचमार्फत दिगो विकास लक्ष्यलाई अगाडि बढाउन चाहन्छ, स्वच्छ उर्जाको लागि पेरिस सम्झौतामार्फत निर्धारित साझा लक्ष्य हाँसिल गर्न सामुहिक प्रतिवद्धता चाहिन्छ,”– मन्त्री खड्काले भने ।

उर्जामन्त्री खड्काले छिमेकी देशका सार्वजनिक र निजी क्षेत्रलाई नेपालको जलविद्युत आयोजनामा लगानी गर्नसमेत आग्रह गरे । उनले बंगलादेश, भुटान, भारत र नेपालमा ग्रिड पूर्वाधार एकीकृत गर्नाले नेपालमा जलविद्युत विकासलाई गति दिन सकिने बताए । मन्त्री खड्काले आजको त्रिपक्षीय सम्झौताले फराकिलो बहुपक्षीय उर्जा साझेदारीको घोषणा गरेको उल्लेख गरे । भारतको साथले नेपालले क्षेत्रीय उर्जा व्यापारको नयाँ युगको सुरुवात गर्दै उर्जा क्षेत्रमा सफल सहयोगी मोडल स्थापना गर्न सक्षम भएको उनको भनाइ छ ।

उर्जामन्त्री खड्काले त्रिपक्षीय विद्युत विक्रि सम्झौता अन्तर्गत ४० मेगावाट प्रारम्भिक क्षमताका साथ यो प्रयास सुरु गर्दा सय माइलको यात्रा एउटै पाइलाबाट सुरु हुन्छ भन्ने आफूलाई स्मरण भइरहेको बताए। मन्त्री खड्काले उक्त सम्झौताले नेपालको छिमेकी राष्ट्रहरुको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । उर्जा क्षेत्रमा हाम्रा साझा लक्ष्यलाई प्राप्त गर्न भारत र बंगलादेशसँग मिलेर सहकार्य गर्न आफू तत्पर रहेको मन्त्री खड्काको भनाई थियो ।

सम्झौता कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ, बङ्गलादेशका अन्तरिम सरकारका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसन, उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिवद्धय सुरेश आचार्य र सरीता दवाडी, मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारी, नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट वोर्ड र एनटिपिसि विद्युत व्यापार निगम भारतका प्रतिनिधी, नेपालस्थित भारत र बंगलादेशका प्रतिनिधीलगायत उच्च पदस्थ अधिकारीहरुको सहभागीता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*