नेपालमा एसेम्बल रोयल इनफिल्डमा गम्भीर सुरक्षा खतरा, एबीएस र डिस्क ब्रेक हटाउँदा जोखिम कति ?
काठमाडौँ । त्रिवेणी समूहअन्तर्गतको टीजी अटो ग्रुपद्वारा नेपालमा एसेम्बल भएका रोयल इनफिल्ड मोटरसाइकलहरूमा सुरक्षासम्बन्धी गम्भीर लापरबाहीको पत्ता लागेको छ । भारतबाट एसेम्बल किट ल्याएर नेपालमा तयार गरिने मोटरसाइकलहरूमा महत्वपूर्ण सुरक्षा विशेषताहरू हटाइएको तथ्य बाहिर आएको हो ।
एसेम्बलका क्रममा ’एन्टिलक ब्रेकिङ सिस्टम’ (एबीएस) र पछाडिको डिस्क ब्रेक जस्ता सुरक्षात्मक तत्त्वहरू हटाउनु उपभोक्ताहरूको सुरक्षामा गम्भीर जोखिम ल्याउने कदम भएको छ । भारत सरकारले सन् २०१७ मा २५० सीसीभन्दा बढी इन्जिन क्षमता भएका मोटरसाइकलमा एबीएस अनिवार्य गरिसकेको छ । नेपालमा आउने अधिकांश मोटरसाइकलमा यो सुविधा जडान गरिएको भए तापनि, नेपालमा नै एसेम्बल गर्दा एबीएस जस्ता अत्यावश्यक सुरक्षा विशेषता हटाउनुले उपभोक्ताहरूलाई सम्भावित दुर्घटनामा पर्न सक्ने जोखिम बढाएको छ ।
यससँगै, पछाडिको डिस्क ब्रेक पनि हटाइएको छ, जुन भारतमै निर्मित मोटरसाइकलहरूमा अनिवार्य रूपमा राखिएको हुन्थ्यो । पछाडिको ब्रेक हटाइनु, मोटरसाइकलको ब्रेकिङ क्षमता घटाउनुका साथै गम्भीर दुर्घटना निम्त्याउने कारक बन्न सक्दछ ।
नेपालमा नै एसेम्बल गरेका रोयल इनफिल्ड मोटरसाइकल सस्तो बनाउने भन्दै मुख्य भाग नै हटाउन थालेपछि ग्राहकहरुमा निकै ठुलो जोखिम ल्याउन सक्ने खतरा बढेको हो । मूल्य सस्तो बताउने बताउँदै कम्पनीले मुख्य भाग हटाएर कमाई खाने धन्दा चलाइ रहेको हो ।
डिस्क ब्रेकको महत्व र प्रभाव
डिस्क ब्रेकहरू नयाँ प्रविधि हो, जसले मोटरसाइकललाई तीव्र गतिमा प्रभावकारी रूपमा रोक्न मद्दत गर्दछ। सामान्यतया, मोटरसाइकलको अगाडि र पछाडिको पांग्रामा अलग–अलग ब्रेक प्रणाली हुन्छ। अगाडि राखिएको डिस्क ब्रेकले ब्रेकिङ प्रणालीको ७० प्रतिशत काम सम्हाल्छ भने पछाडिको ब्रेकले ३० प्रतिशत। ब्रेकको सही प्रकारको प्रयोगले मोटरसाइकललाई रोक्न मद्दत गर्न सक्छ, जुन दुर्घटना टार्न महत्त्वपूर्ण हुन्छ ।
ड्रम ब्रेकको तुलनामा डिस्क ब्रेक धेरै प्रभावकारी हुने भएकाले यो अधिक सुरक्षित मानिन्छ। डिस्क ब्रेकले पानी परेको बाटो, हिलो वा सुख्खा बाटोमा पनि एकनासले राम्रो काम गर्छ। यो प्रविधि भएकाले, कम शक्ति खर्च गरेर पनि मोटरसाइकल नियन्त्रणमा ल्याउन सकिन्छ ।
उपभोक्ताका लागि चेतावनी
रोयल इनफिल्डको मोटरसाइकलहरू नेपालमा लोकप्रिय छ तर सुरक्षासम्बन्धी लापरबाहीको पत्ता लागेपछि उपभोक्ताहरूले यसको खरिद गर्दा सतर्कता अपनाउनुपर्ने देखिन्छ । यो नीतिगत लापरबाहीको परिणामस्वरूप सम्भावित दुर्घटनाबाट जोगिन उपभोक्ताहरूले यी मोटरसाइकलहरूको एसेम्बल प्रक्रियामा ध्यान दिन आवश्यक छ ।
नेपालमा रोयल इनफिल्डको ब्रान्डले दिने भरोसा र विश्वासमाथि प्रश्न उठिरहेको बेला, उपभोक्ताहरूले सुरक्षामा कुनै सम्झौता नगरी उपयुक्त मोटरसाइकल छनोट गर्नुपर्ने देखिएको छ ।
टिजी अटो ग्रुपको यस्तो लापरवाहीले ब्रान्डको प्रतिष्ठा घटाउन सक्ने खतरा छ । यो घटनाले मोटरसाइकल खरिद गर्दा उपभोक्ताहरूले सुरक्षालाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखाएको छ।