सुर्यज्योति लाइफमा बीमा गर्दै हुनुहुन्छ ? पर्खनुस् ! बीमितको निधनपछि बीमा पोलिसी नै रद्द हुनसक्छ

१६ आश्विन २०८१, बुधबार १३:११

काठमाडौं । तपाईले सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्दै हुनुहुन्छ भने अब तपाईले प्रस्ताव फारम भर्दादेखि अन्यत्र जुनसुकै बेला सचेत हुनुपर्ने भएको छ । अन्यथा तपाईले तिरेको पैसा समेत फिर्ता पाउनु हुनेछैन ।

बीमा गरौं ढुक्कले बसौं भन्ने नारा सुर्यज्योति लाइफका लागि पुरानो भइसकेको छ । किनभने सुर्यज्योति लाइफले बीमितको निधनपछि बीमा पोलिसी नै खारेज गरिदिन सक्नेछ । गेनहा–६, रुपन्देहीका दिनेश जैसवाललाई अहिले आमाको निधनपछि सुर्य ज्योति लाइफले चार लाख रुपैयाँ समेत फिर्ता नदिई ठगी गरेपछि न्यायको खोजीमा चौतार्फी भौतारिनु परिरहेको छ । सुर्यज्योति लाइफमा बीमा गर्नु उनको गल्ती थिएन भने उनकी आमाको निधन भएको पुष्टि भएपछि बीमा बापतको रकम खुरुक्क पाउनु पर्ने थियो । तर, त्यसो भएन । उल्टै २०७९ सालदेखि न्यायको लागि भौतारिँदा समेत आफूले तिरेको पैसा समेत फिर्ता पाएनन् ।

२०७८ साल फागुन १३ गते दिनेश जैसवालकी आमा सतिया देवी कलवारिनले २० लाख रुपैयाँ बीमाङ्कको चौरासी पुजा नामक बीमा पोलिसी खरिद गरेका थिए । तर, संयोगवश जैसवालकी आमाको २०७९ साउन ६ गते निधन भयो । उनको निधन कालगतिले घरैमा भएको थियो । आमाको निधनपछि काज किरिया सकेर नियम अनुसार बीमा दावी भुक्तानीको लागि कम्पनीमा दिनेश जैसवालले कागजात त पेश गरे तर सुर्यज्योति लाइफले बीमा दावी भुक्तानी दिनुको साटो एकवर्षसम्म आज र भोलि गर्दै झुलाईरह्यो । अन्त्यमा २०८० भदौंमा आएर २०७९ साल चैत्र १५ गतेको मितिमा जारी भएको एउटा पत्र थमाइयो । जसमा बीमित सतियादेवी कलवारिनले सुर्य ज्योति लाइफबाट मिति २०७८।११।१३ गते जारी भएको बीमा पोलिसी नं ४०४००२८९७ कम्पनीको नियम अनुसार भन्दै सुरु मितिदेखि नै रद्द गर्ने निर्णय भएको लेखिएको थियो । अनि न पैसा फिर्ता दियो न बीमा बापतको रकम नै ।

बीमित कलवारिनका आफन्तलाई बीमा दावी भुक्तानी दिनुको साटो बीमितको निधनपछि बीमा पोलिसी रद्द गर्ने सुर्यज्योति लाइफको निर्णयले सिंगो बीमा व्यवसायलाई झस्काईदिएको छ । बीमितहरुलाई आशंका उत्पन्न गर्ने ठाउँ दिएको छ । बीमा एउटा करार पनि हो । करारको सिद्धान्त अनुसार दायित्व उत्पन्न भइसकेके पछि करार भंग गर्नै पाइदैन ।

त्यस्तै, बीमाको सिद्धान्त, मूल्य मान्यता अनुसार पनि बीमितको निधनपछि बीमा पोलिसी रद्द वा खारेज गर्नु गैर कानुनी हो । गैर कानुनी निर्णयको जगमा नियामक कमजोर भएको फाइदा उठाउँदै सुर्यज्योति लाइफले बीमितलाई ठगी गर्ने धन्दा चलाउँदै आएको छ । यसको स्पष्ट उदाहरण हो, रुपन्देहीकी सतियादेवी कलवारिन काण्ड । तपाईहरु पनि सुर्यज्योति लाइफमा बीमा गरेर सतियादेवी कलवारिन जस्तै ठगिनबाट जोगिन चाहनुहुन्छ भने बीमा प्रस्ताव फारम भर्दा नै विशेष ध्यान पुर्याउनु होला । अन्यथा तपाईले कम्पनीमा बुझाएको लाखौं रुपैयाँ समेत सुर्यज्योति लाइफले फिर्ता नगर्न सक्नेछ ।

यदि तपाई सुर्यज्योति लाइफमा जीवन बीमा गर्दै हुनुहुन्छ भने निकै सचेत र तपाईसँग भएको प्रमाणखुल्ने कागजातमा उल्लेख भएको विवरण मात्रै भरेर बीमा गर्नुहोला । जस्तो उदाहरणको लागि तपाईले बार्षिक दुई लाख बीमा शुल्क तिर्नुहुन्छ भने बार्षिक दुई लाख रुपैयाँ आम्दानीको कर तिरेको प्रमाण समेत राखेर मात्रै बीमा गर्नुहोला अन्यथा बीमा कम्पनीले आम्दानी प्रमाणित नभएको भन्दै बीमापोलिसी रद्द गर्नसक्नेछ । स्वास्थ्य परिक्षण फारम समेत आफैले भर्नुहोला अन्यथा पछि अनेक बहाना पारेर बीमा पोलिसी रद्द गरिदिन सक्ने देखिएकोछ । तपाईले बीमा प्रस्ताव फारममा भरेका सामान्य विवरण मात्रै फरक पर्ने वित्तिकै रुपन्देही गेनहा–६ रुपन्देहीका दिनेश जैसवालकी आमा सतिया देवी कलवारिनको जस्तै नियत भोग्नुपर्ने हुनसक्नेछ । बीमित कलवारिनको निधनपछि कम्पनीले बीमितको आम्दानीको स्रोत नदेखिएको र बीमितको छोराको आम्दानीको स्रोत नक्कली देखिएको भनेर पहिलो प्रिमियमबापत बुझाएको चार लाख रुपैयाँ समेत फिर्ता नदिई सुर्यज्योति लाइफ इन्स्योरेन्सले खाईदिएको छ । हाल सो सम्बन्धमा बीमा प्राधिकरणमा मुद्दा प्रक्रियामा रहेको छ । यद्यपि बीमा प्राधिकरणमा रहेको मुद्दाको चाङ्को कारण कलवारिनले कहिले न्याय पाउँछिन् अझै निश्चित भइसकेको छैन ।

जीवन बीमा क्षेत्रमा बीमितको निधनपछि बीमा पोलिसी रद्द गर्ने कार्यले बीमितमाथिको ठगी गरेजस्तै भइरहेको छ । नियामक नेपाल बीमा प्राधिकरणका अधिकांश कर्मचारीहरु सुर्यज्योति लाइफको ठगी धन्दाबारे अनौपचारिक विरोध गर्दछन् । भन्दछन्, ‘यो सांगठानिक गुण्डागर्दी हो, यस्तो अराजकता रोक्नुपर्दछ ।’ हुन पनि हो, बीमाको सिद्धान्तभन्दा बिपरित गएर बीमितको निधनपछि बीमा पोलिसी नै रद्द गर्ने अधिकार कसैलाई पनि छैन । तर, नियामक बीमा प्राधिकरण यस्तो निर्णय गर्ने कार्यमा संलग्न जिम्मेवार पदाधिकारीहरुलाई छानविन गरी कारवाही गर्न तयार अझै देखिएका छैनन् ।

बीमित मरेपछि बीमा पोलिसी खारेज गर्ने निर्णय बीमक कम्पनीबाट भइरहेको छ के भन्नुहन्छ ? भनि जिज्ञाशा राख्दा नेपाल प्राधिकरणका प्रबक्ता तथा निर्देशक सुशिलदेव सुवेदीले भने, ‘यदि बीमित मरेपछि कुनै पनि बीमा कम्पनीले बीमा पोलिसी रद्द गर्ने, जफत गर्ने गर्दछन् भने त्यो एकदमै गलत हो । यो त हुन दिनै हुँदैन ।’ प्रबक्ता सुवेदीले भने, ‘बीमा पोलिसी रद्द गर्ने निर्णय नै भएको छ भने बीमितलाई न्याय दिनेछौं ।’

2 thoughts on “सुर्यज्योति लाइफमा बीमा गर्दै हुनुहुन्छ ? पर्खनुस् ! बीमितको निधनपछि बीमा पोलिसी नै रद्द हुनसक्छ

  1. देबेन्द्र गुप्ता says:

    मृतक को परिवार लाइ पैसा दिनु पर्थ्यो दिने बेला मा तमाम कानुन को दाव पेच गरेर पैसा हड्पिनु गलत हो पृमियम जम्मा गर्नु भन्दा पहिले जे गर्न छ जाच बुझ गरि गर्नुपर्थ्यो पृमियम जमा भए लगत्तै बिमा एक्टिभ हुन्छ पछि चोरेर ल्यायो कि शरिर बेचेर ल्यायो कि सापट लिएर आयो त्यसको केहि अर्थ छैन यसमा सबै बिमा क्म्पनि माथि को भरोसा रह्दैन र क्म्पनि लाइ यसको घाटा स्वत: थाहा हुन्छ भ्यालु रहदैन

  2. मनराज शाही says:

    यस्तैहो भने बिमा कम्पनि प्रति आम जनसमुदायको बिस्वास घट्नेछ ।समयमै बिमितले न्याय पावस

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*