नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

१६ आश्विन २०८१, बुधबार १२:४१

काठमाडौँ । विश्व बैंकले चालु आर्थिक वर्ष (सन् २०२५) मा नेपालको आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण गरेको छ । यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने जनाइएको हो ।

अघिल्लो आर्थिक वर्ष (सन् २०२४) मा विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । विश्व बैंकको सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदनमा आर्थिक वृद्धिदरको मुख्य आधारका रुपमा उच्च पर्यटक आगमन, जलविद्युत् र धान उत्पादनलाई उल्लेख गरेको छ ।

नेपालको अर्थतन्त्र आगामी आर्थिक वर्ष २०२६ मा भने ५.५ प्रतिशतले वृद्धि हुने अनुमान छ । विश्व बैंकका अनुसार केन्द्रीय बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानमा गरिएको सहजीकरणका कारण नेपालको वृद्धिमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहने समेत जनाइएको छ ।

वित्तीय प्रणालीमा उच्च जोखिम सहित निजी क्षेत्रको कर्जा वृद्धिलाई सीमित गर्ने निष्क्रिय कर्जा, लगानी नै प्रभावित हुन सक्ने गरी सम्भावित नीतिको अनिरन्तरता, पूर्वाधार विकासलाई असर गर्ने पूँजीगत खर्चको कार्यान्वयनमा हुन सक्ने ढिलाइ, क्षेत्रीय अस्थिरता र व्यापार अवरोध जसले पर्यटन र आन्तरिक माग कम गर्न सक्ने जस्ता जोखिम विश्व बैंकले जारी गरेको प्रतिवेदनमा औल्याएको छ ।

बजेटरी प्रक्रियामा सुधार ल्याउँदै पूरा हुने चरणमा रहेका परियोजनालाई सम्पन्न गरी पूँजीगत खर्च बढाउने नेपालको प्राथमिकताले बृहत अर्थतन्त्रको स्थायित्व सुदृढ गर्ने सकिने सम्भावनाको रुपमा लिइएको छ । सो कदमले आन्तरिक उत्पादन बढाउने र धेरै रोजगारी सिर्जना हुने अपेक्षा राखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*