राहत घोषणामा तँछाडमछाड गर्ने उद्योग व्यावसायिक संघहरु कता हराए ?

१४ आश्विन २०८१, सोमबार ११:४१

काठमाडौं । गएको कार्तिकमा गएको जाजरकोट भूकम्पका बेला राहत घोषणामा तँछाडमछाड गरेका उद्योगी व्यवसायी यो पल्ट बाढीपहिरोको विध्वंशमा गुमनाम छन् । बाढीपहिरोले ठूलो जनधनको क्षति हुँदा सिटिजन्स बैंकले २५ लाख र महालक्ष्मी विकास बैंकले एक लाख र एनलेलले निःशुल्क डेटा दिनेबाहेक नीजि क्षेत्रबाट राहतको ‘र’ सुन्न पाइएको छैन ।

२०८० कार्तिक १८ गते शुक्रबार भूकम्प जाँदा दुई दिनमै १२ करोड रुपैयाँ र अन्य राहत सामग्रीको प्रतिवद्धता आएको थियो । अहिले सयौंको संख्यामा मानवीय हताहती र ठूलो धनमाल तथा भौतिक संरचना गुम्दा उद्योगी व्यवसायीको छाता संगठन उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर, नेपाल उद्योग परिसंघ सबै गुमनाम छन् ।

जाजरकोट भूकम्पमा गैरआवासीय नेपालीदेखि नेपालका ठूला औद्योगिक घराना, बैंक तथा वित्तीय संस्थाहरु सबैले प्रधानमन्त्री राहत कोषमा सहयोग प्रदान गरेका थिए । अर्वपति विनोद चौधरीको सीजी फाउण्डेशनले त हजारौँ टहरा निर्माण गरिदिने घोषणा गरेको थियो ।

त्यो बेला छिमेकी राष्ट्र भारत, चीन, प्रादेशिक सरकार, राजनीतिक दल, गैरआवासीय नेपाली संघलगायत निजी संघसंस्थाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमार्फत भूकम्पपीडितलाई राहत र पुनर्निर्माणका लागि सहयोग गरेका थिए । अहिले केही राजनीतिक दल, एकाध बैंकले मात्रै सहयोग दिएका छन् ।

उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका चन्द्र ढकालको आईएमई ग्रुपले भूकम्प पीडितलाई १ करोड ५० लाख दिएको थियो । जसमा बैंक, इन्स्योरेन्स तथा आईएमइ समेतको सहयोग थियो । त्यो बेला ठूला देखि साना सबै संघ संगठनहरुले आर्थिक सहयोग तथा राहत सामग्री उपलब्ध गराएका थिए ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले १० लाख दिँदा एनआरएनएका संस्थापक उद्यमी जीवा लामिछानेको लगानी रहेको ट्रिप इन होटल समूह (जर्मनी)ले २० लाख रुपैयाँ आर्थिक सहयोग घोषणा गरेको थियो । राहत घोषा गर्नेको होड चलेपनि त्यो बेला पनि यथार्थमा भनेजति राहत संकलन भएको थिएन । अहिले बाढीपहिरोले क्षति गरेको तीन दिन कटिसक्दा घोषणा नै सुन्न पाइएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*