२०५१ मा ५५० मिलिमिटर वर्षा हुँदा डुबेन काठमाडौं, अहिले कसरी डुब्यो ?

१४ आश्विन २०८१, सोमबार १०:४१

काठमाडौं । आत्मरतिका लागि अनेक तथ्याङ्क पेश गरेर आफ्ना कमजोरी छोप्ने परम्पराबाट ग्रसित राज्य विपदमा पटक-पटक नाङ्गिएको छ भने हरेक परिवेशमा हेलचक्रयाईं गर्नाले नागरिकहरु पटक-पटक दुःख पाइरहेका छन् । र, आम रुपमा यो एउटा नियती नै भइसक्यो ।

हालैको अविरल वर्षाले नित्याएको विपत्तीबीच पनि त्यस्तै तर्क र तथ्यहरुले प्रधानता पायो । बाढी र पहिरोमा परी १७० जनाले ज्यान गुमाएका छन् भने कयौँ अझै बेपत्ता छन् । ठूलो जनधनको क्षति भएको छ ।
र, पनि कमजोरी छोप्न तथ्य के पेश भइरहेका छन् भने ५४ वर्षयताकै अधिक वर्षा, रेकर्डब्रेक वर्षा आदि इत्यादी । विपदले यस्तोविधि चोट दिँदा पनि मिथ्याङ्क बेच्न छोडिएको छैन ।

दुई अढाईसय मिलिमिटर वर्षालाई ५४ वर्ष यताकै रेकर्डब्रेक वर्षा भन्नु भनेको आफैंले आफैंलाई धोका दिनु हो, पहिरोविद् डा. प्रेम पौडेल भन्छन्, ‘अनुमानित तथ्याङ्क पेश गरेर वास्तविकतालाई छोप्ने प्रयास स्वघातक हो । तथ्याङ्क कै कुरा गर्ने हो भने पनि २०५१ सालमा काठमाडौं मै साढे ५०० मिलिमिटर वर्षा भएको रेकर्ड छ भने त्यो बेला धनगढीमा ६०० मिलिमिटरमाथि वर्षा भएको थियो । र, त्यसबेला यसरी डुबान भएको थिएन ।’

उच्च तथा अति उच्च वर्षाका कारण नै बाढी र पहिरो निम्तिने हो, डा. पौडेल अगाडि भन्छन्, ‘तर, यही कारण बाढी वा पहिरोले नोक्सान गरेको भन्न सकिँदैन । यो बहुआयामिक विषय हो । अधिक वर्षाले बाढी आउनु स्वभाविक हुन्छ । पहिरो जाने भने एउटै कारण हुँदैनन् । विविध कारणहरु हुन्छ । हामी विकास र पर्यावरणबीच सन्तुलन कायम गर्न नसकेर दुःख पाइरहेका छौँ ।’

काठमाडौंको हकमा नदीको चक्लाई साँघुरिनु मात्रै समस्या नरहेको बताउँदै पहिरोविज्ञ डा. पौडेलले नदी किनारको मापदण्ड लागू गर्न नसकिने अवस्थामा पनि बाढी थाम्ने विकल्प हुनसक्ने बताए ।
उनी भन्छन्, ‘नदी किनारको दायाँबायाँ खाली गराउन सम्भव भए राम्रै कुरा हो । यदि राज्यले मुआब्जा तिर्नै नसक्ने र ठूलो आर्थिक भार पर्ने अवस्था आए न्यायालयले फैसला गरेर मात्रै भएन । त्यसको कार्यान्वयन गर्नसक्ने क्षमता राज्यसँग भएन ने अर्को विकल्प के ? अर्को विकल्प भनेकै माथिल्लो जलाधार अर्थात् तटीय क्षेत्रमा पानीको बहाब भ्यालुसन घटाउन सिस्टम बनाउन सकिन्छ ।

माथिल्लो जलाधार क्षेत्रमा पानी अल्झाउन सकिए केही जमिनमा रिचार्ज हुन्छ भने केही इनर्जी कटर बग्छ ।’ नदी किनारका बासिन्दालाई कसैले हटाउँछु, लखेट्छुँ र अनि बाढीको विनास कम हुन्छ भन्नू मुर्खता मात्रै हो । राज्यले काठमाडौं उपत्यकाका नदी किनारमा निजी जमिन पर्नेहरुलाई मुआब्जा दिएर खाली गराउने हो भने एकमुष्ठ ५० देखि ६० खर्ब रुपैयाँ आर्थिक भार पर्न सक्छ । त्यस कारण सरकार न्यायालयको फैसला कार्यान्वयन गर्ने पक्षमा छैन ।

अहिले विपद जोखिम न्यूनिकरणको मुख्य जिम्मेवारी स्थानीय सरकार प्रमुखलाई छ । तर, स्थानीय सरकार प्रमुखहरुले विकास र पर्यावरण सन्तुलन नबुझि भटाभट् संरचना निर्माणलाई तीब्रता दिएको देखिन्छ ।
पहिरोविज्ञ डा. पौडेल भन्छन्, ‘सडक खन्दा होस् वा खानी तथा क्रसरले ढुंगा, गिटी र बालुवा निकाल्दा होस् । खन्ने र झिक्ने मै ध्याउन्न हुन्छ । माथिल्लो भूबनोटको सन्तुलन विग्रिने कुरामा ध्यान पुग्दैन । अहिले चाहे त्यो मुग्लीनको बाटो होस् चोहे रोसीको पहिरो । कारण एउटै देखियो ।’

नदी कहिल्यै पनि सीधा बग्दैन, घुमेरै बग्छ, यो उसको प्राकृतिक गुण हो । हामीले ढुंगा, गिटी र बालुवा निकाल्दा पनि उसको बहाव क्षेत्र र सम्भावित बहाबलाई ध्यान दिएर निकाल्नु पर्ने हुन्छ, डा. पौडेल भन्छन्, ‘अहिलेजस्तो अवैज्ञानिक तवरले होइन ।’ र, यदि खानी तथा क्रसर चलाउनु परे माथिल्लो भूबनोटको सन्तुलन विगार्नु हुँदैन । अनि, रिभर बैंक र किनारको बनावटबारे पनि सोच्नु पर्ने हुन्छ ।’

ऐनले होइन, थितिले हुन्छ, काम
प्रधानमन्त्री, गृहमन्त्री, खानी तथा भूगर्व विभाग, जलउत्पन्न तथा प्रकोप नियन्त्रण, जल तथा भूसंरक्षण, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगसँगै तीन तहका सरकार हुँदा समेत विपद जोखिम न्यूनीकरणमा खास उपलब्धि देखिएको छैन ।

ऐन कानून र निकाय पर्याप्त छन् तर थिति छैन । सरकारले विज्ञसहितको नयाँ डेडिकेडेट टिम बनाउन नसके पनि यिनै निकायहरुबाट रहनेगरी एउटा डेडिकेडेट टिम असाइन गर्न सक्थ्यो । अर्कोतिर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अटोनोमीमा लगेर त्यसको सांगठनिक संरचना चुस्त बनाउन सक्थ्यो । पहिरोविज्ञ डा. पौडेलका अनुसार नेािलमा देश विदेशमा अध्ययन गरेर आएको मेनपावर छ, तर अपरेशनल टिम निर्माण गर्न सकिएको छैन ।

अर्कोतिर विपदको क्षति मापन समेत प्राविधिक रुपमा हुन सकिरहेको छैन । ब्याङ्ककले २००६ को बाढीबाट सिकेर आफ्नो भूउपयोग नीति नै बदल्यो । हामीलाई प्राकृतिक विपत्तीले पटक–पटक सिकाउँदा पनि भूउपयोग नीति र पर्यावरणीय सन्तुलन कायमको चेत फिरेन ।

खानी र क्रसर समस्या
भूगर्भ तथा प्रकोपविज्ञ श्रीकमल द्विवेदी यो पल्ट बाढीपहिरोले गरेको क्षति एकै किसिमको देखिएका कारण अन्धाधुन्ध खनिएका सडक, खानी र क्रसर समस्या हुुन् भन्ने शंका जन्मिएको बताउँछन् ।
काभ्रेको पनौती, बेथानचोक, रोसी मात्रै होइन ललितपुरको टीकाभैरव क्षेत्रमा एकै प्रकारले क्षति भएको उनले बताए ।

उनले भने, ‘खानी र क्रसर तथा ग्रामीण सडक खनिएका ठाउँमा यो समस्या देखिएको छ । बाढीले अधिक असर पार्नुको मुख्य कारण खानी तथा क्रसर उद्योगले अव्यस्थित रुपमा थुपारेको गेग्ग्रयान हो । खोलाको प्राकृतिक बहाब क्षेत्रमा गेग्रयानले अवरोध गरेपछि मानवबस्ती कटानमा परेको देखिन्छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*