विद्यालय र कलेज ३ दिन बन्द, शनिबार विश्वविद्यालयको परीक्षा दिन नपाएकालाई फेरि मौका दिइने

१३ आश्विन २०८१, आईतवार ०९:२४

काठमाडौं । वर्षाजन्य विपदले देशभरका विद्यालय तथा शैक्षिक संस्था आइतबारदेखि तीन दिन बन्द गरिएको छ । विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने आइतबारको परीक्षा समेत स्थगित भएको छ ।

विश्वविद्यालयले सञ्चालन गर्ने सोमबारदेखिको परीक्षा भने सम्बन्धित विश्वविद्यालयले नै मौसमको अनुकूलता हेरेर सञ्चालन गर्न सक्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईका अनुसार विभिन्न विश्वविद्यालयले शनिबार सञ्चालन गरेको परीक्षामा उपस्थित हुन नसकेका विद्यार्थीलाई अर्को दिन परीक्षामा बस्न दिने निर्णय समेत भएको छ ।

शैक्षिक क्यालेन्डर कार्यान्वयनको दबाबमा रहेको त्रिभुवन विश्वविद्यालयले शनिबार पनि मुलुकभर विभिन्न तहको परीक्षा सञ्चालन गरेको थियो । मन्त्रालयले आइतबारदेखि नै लागु हुने गरी सम्पूर्ण विश्वविद्यालयको परीक्षा एक साताकै लागि स्थगित गर्ने विषयमा सम्बन्धित विश्वविद्यालयसँग परामर्श गरेको थियो । तर, एक सातासम्म परीक्षा पर लैजाँदा शैक्षिक पात्रो नियमित गर्न अप्ठ्यारो पर्ने राय विश्वविद्यालयका पदाधिकारीले दिएका छन् ।

शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले परीक्षा तथा पढाइ तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो । हाल विश्वविद्यालयमा स्नातक तहका विभिन्न तहको परीक्षा सञ्चालन भइरहेको छ ।

अधिकांश विद्यालयमा कक्षा १२ सम्मकै विद्यार्थीको प्रथम त्रैमासिक परीक्षा सञ्चालन भइरहेको छ । आइतबार स्थगित गरिएको विश्वविद्यालय तहका परीक्षा पनि अन्तिम परीक्षा सकिएको दिनको भोलिपल्ट सञ्चालन गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

अविरल वर्षापछि आएको बाढीका कारण उपत्यकासहितका देशका विभिन्न जिल्लामा शैक्षिक संस्था डुबानमा परेका छन् । डुबानका कारण भौतिक संरचनाहरुमा समेत क्षति पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*