दुई महिनामा प्रथम बीमा शुल्क ३१% ले बढ्यो, राष्ट्रिय जीवन बीमाको उत्कृष्ट बृद्धि, अन्यको अवस्था कस्तो ?

११ आश्विन २०८१, शुक्रबार १४:०६

काठमाडौं । चालु आवको दुई महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्कमा उल्लेख्य प्रगति भएको छ । बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्कको आधारमा आर्थिक संकटका बीचमा दुई महिनामा प्रथम बीमा शुल्कमा अत्याधिक बृद्धि हुनुलाई देशको आर्थिक अवस्थामा सुधार आएको रुपमा हेर्न सकिन्छ ।

गत आवको दुई महिनामा जम्मा तीन अर्ब ८८ करोड ९१ लाख रुपैयाँको प्रथम बीमा व्यवसाय गरेका बीमा कम्पनीहरुले चालु आवको सोही अवधीमा पाँच अर्ब १२ करोड ७४ लाख रुपैयाँ संकलन गर्न सफल भएका छन् । गत वर्षको तथ्याङ्कमा प्रथम बीमा शुल्कमा बैदेशिक रोजगार म्यादी बीमा समेत समावेश गरिएकोमा यस वर्षदेखि उक्त बैदेशिक रोजगार म्याद बीमालाई हटाएर छुट्टै गणना गरिएको हो । सो आधारमा कोर जीवन बीमाको व्यवसायमा उल्लेख्य बृद्धि भएको देखिएको छ ।

सबैभन्दा ठूलो कम्पनी नेपाल लाइफको सबैभन्दा धेरै ३० प्रतिशतले बृद्धि गर्दै एक अर्ब २८ करोड ५८ लाख रुपैयाँ प्रथम बीमा शुल्क बापत संकलन गरेकोछ । त्यस्तै, दोस्रो नम्वरमा नेशनल लाइफ पर्न सफल भएको छ । सो कम्पनीले ७४ करोड रुपैयाँ प्रथम बीमा शुल्क बापत संकलन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको प्रथम बीमा शुल्क ४२ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, तेस्रो नम्वरमा हिमालयन लाइफ परेको छ । सो कम्पनीको प्रथम बीमा शुल्क ४४ करोड ७४ लाख रुपैयाँ संकलन गरेको छ ।

त्यस्तै, सुर्यज्योति लाइफले ४० करोड १२ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको छ । कम्पनीको प्रथम बीमा शुल्क व्यवसाय ३३ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, एलआईसी नेपालले ३६ करोड प्रथम बीमा शुल्क संकलन गर्दा सिटिजन लाइफले ३४ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ३२ करोड, मेन लाइफले २१ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् ।

दुई महिनाको अवधीमा एशियन लाइफले २० करोड, सानिमा रिलायन्सले २० करोड, रिलायबल नेपाल लाइफले १८ करोड, प्रभु महालक्ष्मी लाइफले १४ करोड र सन नेपाल लाइफले १० करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

आर्थिक संकटका बीचमा नयाँ सरकार बनेको र शेयर बजारमा उछाल आएसँगै बीमाको गतिविधि समेत ह्वात्तै बृद्धि भएको बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङ्कमा देखिाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*