पुँजीबजारको सुधारमा ठूला लगानीकर्ताको अनुकूल प्रयासले प्रभाव पर्यो: अध्यक्ष पोखरेल
काठमाडौं। पुँजीबजारमा हाल देखिएको अस्थिरता र सुधारको कमीका लागि पुँजीबजारका ठूला र अनुभवी लगानीकर्ताको भूमिका जिम्मेवार भएको ठहर पुँजीबजारका सरोकारवालाले गरेका छन्। पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले ठूला र पुराना लगानीकर्ताहरूले बजारलाई आफू अनुकूल चलाउने प्रयास गर्दा पुँजीबजारले सुधार गर्न नसकेको बताएकीछन् । पोखरेलका अनुसार, बजारलाई स्वतन्त्र रूपमा सञ्चालन गर्नुपर्ने भए पनि ठूला लगानीकर्ताहरूले बजारमा अनावश्यक प्रभाव पार्न खोज्दा दीर्घकालीन असर परेको छ।
अध्यक्ष पोखरेलले नेपालमा पुँजीबजारलाई आर्थिक सूचकांकले भन्दा पनि राजनीतिक इण्डिकेटरहरूले बढी चलाइरहेको टिप्पणी गर्दै, यस्तो अवस्थाले बजार सुधारमा अवरोध खडा गरिरहेको बताइन। उनले भनिन्, बजारको सुधारमा सबैभन्दा ठूलो चुनौती भनेकै लगानीकर्ताले आफ्नो स्वार्थअनुकूल बजारलाई चलाउन खोज्नु हो।
पोखरेलले ठूला लगानीकर्ताले नाफा कमाउनका लागि ब्रोकरहरूलाई भुक्तानी नगरी व्यापार गरेको र जब बजारमा गिरावट आउँदा ब्रोकर व्यवस्थापनमा समस्या भएपछि कारोबार रकम र बजार अंकमा गिरावट आएको बताइन् । बजारको उतार-चढाव सामान्य प्रक्रिया भए पनि यसलाई सहज रूपमा लिइनुपर्नेमा ठूला लगानीकर्ताहरूले बजारमा हावी हुँदै, नाफा लिन मात्र खोज्दा सुधार प्रक्रिया रोकिएको पोखरेलको भनाइ छ।
पोखरेलले बजारमा नयाँ लगानीकर्ताको आगमन हुँदा र बजार माथि जाँदा उत्साहजनक प्रतिक्रिया देखिए पनि, बजार ओरालो लाग्ने बित्तिकै लगानीकर्ताको मनोबल कमजोर हुने प्रवृत्तिले पनि बजारमा नकारात्मक असर गरेको बताइन्। पुँजीबजारको दीर्घकालीन सुधारका लागि सरकार र नियामक निकायले थप नीतिगत सुधार आवश्यक रहेको र यसका लागि व्यापक छलफल हुनुपर्ने आवश्यकता उनले औंल्याइन् ।
पोखरेलका अनुसार, नेपालको पुँजीबजार परिपक्व नभएको र लगानीकर्ताहरूले बजारमा दीर्घकालीन योजनासहितको लगानीभन्दा पनि तत्कालको फाइदा खोज्ने प्रयास गर्दा समस्या उत्पन्न भएको छ। उनले पछिल्लो समय ठूला लगानीकर्तासमेत व्यापारीको भूमिकामा देखिन थालेको र यसले बजारमा स्थिरता कायम गर्न कठिनाइ भएको बताइन् ।
‘बजारको सुन्दर पक्ष भनेको यसको घटबढ हो’ पोखरेलले भने, ‘सरकारले बजारलाई स्थिर राख्न केही नीतिगत सुधारहरू गर्न आवश्यक छ, तर यसको प्रमुख जिम्मेवारी लगानीकर्ताले बजारलाई कसरी बुझिरहेका छन् भन्ने कुरामा निर्भर गर्छ।’