बजारमा राताम्यले पायो निरन्तरताः लगानीकर्ताको मनोबल कमजोर, अर्बौंको क्षति

१० आश्विन २०८१, बिहीबार १५:०४

काठमाडौँ । नेपाल पुँजी बजारमा पछिल्लो समय निरन्तर ओरालो यात्रा जारी छ । बैंकको ब्याजदर घट्दै गएको, अर्थतन्त्रमा सुधारका संकेत देखिएको र बजारका लागि आवश्यकसूचकहरू सकारात्मक देखिँदा पनि शेयर बजारले अपेक्षित रूपमा सुधार गर्न सकेको छैन । लगानीकर्ताको मनोबल कमजोर भइरहँदा बजारमा गिरावट निरन्तर भइरहेको छ, जसले अर्बौंको लगानी जोखिममा पारेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकमा आएको निरन्तरको गिरावटले धेरै लगानीकर्तालाई निराश बनाएको छ । पुँजी बजारका जानकारहरूका अनुसार बजारले सुधार गर्नुपर्ने समयमा अपेक्षित रूपमा उठ्न नसक्दा लगानीकर्ताको मनोबल कमजोर भइरहेको छ । बजार सुधारको प्रतीक्षामा रहेका लगानीकर्ताहरूको नकारात्मक मनोदशाले पनि बजारको गिरावटलाई थप उकासिरहेको देखिन्छ ।

बैंकको ब्याजदर ओरालो लागेको, तरलता अवस्था सुध्रिँदै गएको र अर्थतन्त्र पनि क्रमिक रूपमा लयमा फर्किँदै गरेको भए पनि शेयर बजारले ती सबै सकारात्मक संकेतहरूको लाभ लिन सकेको छैन । बजारले अस्थिरता झेलिरहेको कारण लगानीकर्ताले लामो समयसम्म पर्खेर पनि नाफा लिन नसक्दा बजारमा नकारात्मक असर परिरहेको छ ।

यस गिरावटका कारण लगानीकर्ताको अर्बौंको सम्पत्ति जोखिममा परेको छ । बजारमा आएको यो निरन्तरको गिरावटले लगानीकर्ताको सम्पत्तिमा ठूलो ह्रास आएको छ । कतिपय लगानीकर्ताहरूले आफ्नो लगानी रकमको महत्त्वपूर्ण हिस्सा गुमाएका छन् भने अन्यले सुरक्षित तरलता निकास गर्ने प्रयास गरिरहेका छन् । बजारको यो स्थिति दीर्घकालीन रणनीतिक सुधारको अभाव र अस्थिर लगानी वातावरणका कारण सिर्जित भएको हो । यद्यपि, पुँजी बजारमा सुधारका लागि सरकार र नियामक निकायहरूले निश्चित नीति र कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।

अर्कोतर्फ, बैंकिङ क्षेत्र र अर्थतन्त्रको समग्र प्रदर्शन भने सकारात्मक देखिएको छ । बैंकहरूले ब्याजदर घटाउँदै लगानीलाई प्रोत्साहित गर्न खोजिरहेका छन् र सरकारी निकायहरूले पनि अर्थतन्त्रलाई पुनः लयमा फर्काउन विभिन्न कार्यक्रम अघि सारेका छन्। तर शेयर बजारमा पुनःस्थापनाको लागि अझै केही समय लाग्न सक्ने देखिएको छ । दशैंको बेलाको बिक्री दबाबले बजार ओरालो लागि रहेको तर्क भइरहेका छन् ।

नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ३२.८१ अकंले घटेर २४८६.७६ बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको १ करोड ३६ लाख ९१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ ।

बिहिबार ११ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.१५ प्रतिशत, विकास बैंक समूहको १.१७ प्रतिशत, फाइनान्स समूहको २.०७ प्रतिशत, होटल तथा पर्यटन समूहको २.३४ प्रतिशतले शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*