सम्पदा लघुवित्तले ऋणीलाई कर्जा चुक्ता गर्न ७ दिनको समयसीमा
काठमाडौँ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्जा रकम नियमित तिर्न बाँकी रहेका ऋणी सदस्यहरुलाई सात दिनभित्र कर्जा चुक्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ।
लघुवित्तले आफ्ना विभिन्न शाखा कार्यालयहरूबाट सामूहिक जमानीमा आधारित विना धितो तथा धितो सुरक्षणका आधारमा कर्जा लिएका ऋणीहरुका लागि यो सूचना जारी गरेको हो। संस्थाले जनाएको छ कि केही ऋणी सदस्यहरूले कर्जाको साँवा तथा ब्याज निर्धारित समयभित्र नतिरेको र बारम्बार मौखिक तथा लिखित अनुरोध गर्दा समेत बेवास्ता गरेकोले यो कदम उठाइएको हो।
सार्वजनिक सूचनामा भनिएको छ कि लघुवित्तमा आवद्ध सम्पूर्ण ऋणीहरुले सम्बन्धित शाखा कार्यालयमा सम्पर्क राखी कर्जाको नियमित किस्ता तिर्न वा एकमुष्ट कर्जा चुक्ता गर्न सात दिनभित्र उपस्थित हुनुपर्नेछ। यदि उक्त समयसीमाभित्र ऋणीहरुले कर्जा तिरेनन् भने प्रचलित कानुन बमोजिम कर्जा असुलीको लागि कानुनी प्रक्रिया अगाडि बढाइने संस्थाले चेतावनी दिएको छ।
कर्जा रकमको भुक्तानी समयमै नगर्दा उत्पन्न हुने समस्यालाई मध्यनजर गर्दै, संस्थाले ऋणी सदस्यहरुलाई असल ऋणीको पहिचान राख्न र आवश्यक कारबाहीबाट बच्न आग्रह गरेको छ।