राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्दै

९ आश्विन २०८१, बुधबार १६:५०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्र बैंकल नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांकको लागि यसअघि २०७१/७२ लाई आधार वर्ष मानेर गणना हुँदै आएकोमा अब परिवर्तन गरी यो वर्षबाट २०८०÷८१ लाई नयाँ आधार वर्ष मानेर उपभोक्ता मूल्य सूचकांक सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले उपभोगको प्रवृत्ति, मूल्य संकलन केन्द्र विस्तार गरी ७७ जिल्लाको ८७ मूल्यभार पाँच वर्षमा परिवर्तन हुनुपर्ने मान्यताअनुसार आधार वर्ष परिवर्तन गरेको बताएको छ ।

पहिले प्रयोग नहुने वस्तु प्रयोग हुने र विगतमा प्रयोग हुने वस्तु अहिले प्रयोग नहुँदा हटाउनुपरेका कारण आधार वर्ष परिवर्तन भएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । उनले परिवर्तन गर्न खाजेका कुराहरु अहिले नै पूर्ण नहुने भन्दै परिवर्तन निरन्तरको प्रक्रिया भएको बताए ।
उनले भने,‘परिवर्तन गर्न खाजेका कुराहरु अहिल्यै पनि पूर्ण हुँदैन । हामीले यो परिपूर्ण भन्ने खोज्यौं भने हामी सहि हुँदैनौं । परिवर्तन भन्ने कुरा निरन्तरको प्रक्रिया हो । हामी त्यही डाइरेक्सनमा जाँदै छौं । केही तल माथि छन् भने भोलिको दिनमा सच्याउने छौं । ‘उपभोक्ता मूल्य सूचकांक’को सन्दर्भमा मार्केट सेन्टरहरु बढेर गएका छन् । ५० जिल्ला मात्रै कभर भएकोमा अहिले ७७ जिल्ला कभर भएका छन् । बस्तुको सन्र्दभमा ४९६ वस्तुहरु अहिले ५२५ पुगेको छ । २९ वटा मात्रै वस्तु बढेको देखिए पनि बढेको वस्तु १३५ हो । १०६ वस्तुहरु हटाएका छौँ । उपभोक्तामा उपभोगमा भएको परिवर्तनलाई सम्बोधन गर्न खोजिएको छ । समयाअनुकलका मूल्यहरुलाई पनि समावेश गराएर डाइनामिक बनाउन खोजिएको छ ।’

संघीय संरचनाअनुसार तथ्यांक संकलन गर्न आधार वर्ष परिमार्जन भएकाले नयाँ आधार वर्षमा उपभोक्ता मूल्य सूचकांक गणनामा परिमार्जन गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । त्रिभुवन विश्वविद्यालय तथ्यांक विभाग, केन्द्रिय तथ्यांक कार्यालय र राष्ट्र बैंकको संयुक्त कमिटीले उपभोक्ता मूल्य सूचकांक तयार गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*