आइपीओ निष्कासनको तयारीमा रहेको एसवाई प्यानलको वित्तीय प्रदर्शनमा उल्लेख्य वृद्धि, आम्दानी ६३ करोड
काठमाडौँ । सर्वसाधारणलाई आइपीओ निष्कासनको तयारीमा रहेको एसवाई प्यानल नेपालको व्यापारमा उल्लेख्य सुधार भएको छ । कम्पनीको वित्तीय प्रदर्शन पछिल्ला वर्षहरूमा उत्साहजनक रूपमा बढेको देखिएको हो ।
कम्पनीले सन् २०१९ मा २४ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२३ सम्म आइपुग्दा यो आम्दानी ५२ करोड २० लाख रुपैयाँसम्म पुगेको छ । यो वृद्धि कम्पनीको स्थायी उत्पादन क्षमताको प्रमाण हो । सन् २०२४ मा कम्पनीको आम्दानी ६३ करोड रुपैयाँ पुग्ने अपेक्षा गरिएको छ ।
कम्पनीको ओपरेसनल प्रफिट बिफोर डिप्रिसिएसन, इन्ट्रेस्ट, एन्ड टेक्सेसको आधारमा हेर्दा पनि यो कम्पनीले स्थिर सुधार देखाएको छ । सन् २०२० मा १७ प्रतिशत घाटा व्यहोरे पनि सन् २०२१ देखि २०२३ सम्ममा यो अनुपात क्रमशः २० प्रतिशत, १४ प्रतिशत र १३ प्रतिशतमा सुधार भएको छ । वित्तीय स्थिरताको दृष्टिकोणले पनि कम्पनीको प्रदर्शन सकारात्मक रहेको छ । कम्पनीको कर्जा/साफल सम्पत्ति अनुपात सन् २०१९ मा ०.१६ बाट घटेर सन् २०२३ मा मात्र ०.०१ पुगेको छ, जसले कम्पनीले ऋणको सही व्यवस्थापन गरेको स्पष्ट देखाएको छ ।
कम्पनीले आफ्नो वित्तीय जिम्मेवारीलाई कुशलतापूर्वक व्यवस्थापन गरिरहेको छ । कम्पनीको ब्याज कभरेज अनुपात सन् २०१९ मा १.९५ गुणा थियो, जुन सन् २०२३ सम्म २३.०२ गुणा पुगेको छ । यसले कम्पनीले आफ्नो लगानी र कर्जा व्यवस्थापनमा सक्षमता देखाएको छ । यस्तै, ऋण सेवा कभरेज अनुपात पनि सन् २०२३ मा १८.७१ गुणामा पुगेको छ, जसले कम्पनीलाई दीर्घकालिक ऋण भुक्तानी क्षमतामा सशक्त बनाएको छ ।
कम्पनीले प्रिफ्याब्रिकेटेड घर निर्माणमा आवश्यक पर्ने प्रमुख सामग्रीहरूको उत्पादन गर्दछ । कम्पनीले विशेष गरी expanded polystyrene (EPS) र polyurethane foam (PUFF) स्यान्डविच प्यानलहरू उत्पादन गर्छ, जसले ऊर्जा बचत, बलियो संरचना र दिगोपनको सुविधा प्रदान गर्दछ । यो उत्पादनहरूले हाल निर्माण क्षेत्रमा ऊर्जा दक्षता र टिकाउपनको महत्त्व बढाउँदै लगेको छ ।
रेटिङ
कम्पनीलाई इक्रा नेपालले जारी गरेको [ICRANP-IR] BB रेटिङलाई पुनः पुष्टि गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्वहरूको समयमा सेवा प्रदान गर्न मध्यम जोखिम रहेको संकेत गर्दछ ।
इक्रा नेपालले यो रेटिङ पुनः पुष्टि गर्दा कम्पनीका अनुभवी प्रवर्धकहरू र दक्षिण कोरियाको एसवाई कम्पनीबाट निरन्तर प्राप्त भइरहेको आर्थिक सहयोगलाई आधार बनाएको छ । एसवाई दक्षिण एसियामा प्रख्यात प्यानल निर्माता कम्पनी हो, जसले कम्पनीलाई इक्विटी इनफ्युजन र आपूर्तिकर्ताको क्रेडिटको माध्यमबाट सहयोग पु¥याइरहेको छ । यसले कम्पनीको ऋण व्यवस्थापन र तरलता सुधारमा मद्दत पु¥याएको छ । आगामी सार्वजनिक निष्कासन पूर्ण रुपमा सफल भएमा कम्पनीको आगामी पूँजी विस्तार योजनामा सहयोग पुग्ने अनुमान गरिएको छ ।
कम्पनी योजना
कम्पनीको मुख्य उत्पादन इकाई चितवनको रत्ननगरमा अवस्थित छ, जहाँ अत्याधुनिक प्रविधिको प्रयोग गरी विभिन्न निर्माण सामग्रीहरूको उत्पादन गरिन्छ । नेपालको सम्पूर्ण क्षेत्रमा कम्पनीको उपस्थितिलाई विस्तार गर्न ६२ जना डिलरहरूको सहयोगमा कम्पनीले आफ्ना उत्पादनहरू बिक्रि गरिरहेको छ।
कम्पनीको ६३ प्रतिशत हिस्सेदारी कोरियाको एसवाई कम्पनीले राखेको छ, जसले कोरियाली निर्माण प्रविधि र दक्ष जनशक्तिको फाइदा नेपाली बजारमा पु¥याएको छ । कोरियाली प्रविधिमा आधारित यस कम्पनीले निर्माण सामग्रीको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर कायम गर्दै आएको छ । नेपालमा आधुनिक निर्माणका लागि आवश्यक पर्ने सामग्रीहरूको उत्पादन गर्ने यो पहिलो कम्पनीहरूमध्ये एक हो । कम्पनीले आफ्नो उत्पादन क्षमता मात्र नभई गुणस्तर पनि उच्च राख्ने कुरामा विशेष ध्यान दिएको छ, जसले गर्दा उपभोक्ताहरूको विश्वास जित्न सफल भएको छ ।
कम्पनीले ५२ लाख ३२ हजार ५४८ कित्ता बराबरको ५२ करोड ३२ लाख ५४ हजार ५०० रुपैयाँ बराबरको आइपीओ निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन छ । अनुमति पाएपछि कम्पनीले आइपीओ निष्कासन प्रक्रिया अघि बढाउनेछ ।