दिनहुँ बमबारी भइरहेको लेबनानमा खतरा मोल्दै नेपाली शान्ति सैनिक, के छ अवस्था ?

९ आश्विन २०८१, बुधबार १०:११

काठमाडौं । सशस्त्र विद्रोही ‘हिजबुल्लाह’का अखडा लक्षित इजरायली आक्रमणमा परी लेबनानमा ५५८ जना मारिएका छन् । जसमा ५० जना बालबालिका र ९४ जना महिना रहेको लेबलानका स्वास्थ्य मन्त्रीको हवाला दिँदै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार लेखेका छन् । लेबनानले यसलाई नरसंहार भनेको छ । जहाँ १८३५ बढी घाइते भएका छन् ।

इजरायल र लेबनानबीचको सीमानामा शान्ति स्थापनार्थ राष्ट्र संघीय मिसनमार्फत नेपाली शान्ति सैनिक खटिएका छन् । उनीहरु दैनिक धुलाम्मे र अशान्त सीमानामा अप्रत्याशित रूपमा बदलिइरहने तनावपूर्ण अवस्थाको सामना गर्दै गस्ती गरिरहेका छन् ।

शान्ति मिसनबाट इजरायल र लेबनान सीमानामा खटिएका सहसेनानी सुस्मिता बुढाथोकी र क्याप्टेन  रोजिना महतलगायत नेपाली सुरक्षा फौजले दैनिक खतरा मोलिरहेका छन् । महतका अनुसार अचेल यहाँ दुई पक्षहरू बीच दैनिक गोलाबारी भइरहेको छ । राष्ट्रसंघको शान्ति सेना यूनिफिलमा हाल तैनाथ क्याप्टेन रोजिना महतका अनुसार दिनहुँ दोहोरो गोलाबारीबीच अति सचेत भएर खटिनु परिरहेको छ ।

क्रस फायर र गोलाबारीको आवाज र कम्पन आफुहरुको पोस्ट नजिकै पनि महसुस गरिरहेको उनको भनाइ छ । गएको वर्षदेखि अवस्था बिग्रिएको उनले बताइन् । नेपाली सेनाको जङगी अड्डाले दिएको जानकारी अनुसार हाल लेबनानमा आकस्मिक फोर्सतर्फ ८५० जना, स्टाफ अफिसरतर्फ २६ जना र १ जना डीएफसी गरेर कुल ८७७ जना नेपाली शान्ति सैनिक छन् ।

नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी गौरव कुमार केसीका अनुसार इजरायल र लेबनान सीमानामा खटिएका नेपाली शान्ति सैनिक चुनौतिपूर्ण वातावरणको सामाना गरिरहेको भएपनि अहिलेसम्म कुनै प्रकारको क्षति भने भएको छैन । हाल इजरायलले आक्रमण गरिरहेको क्षेत्रमा कति जनाको नेपाली सुरक्षा फौज खटिएको छ भन्ने संख्या भने जङ्गी अड्डाले यकिनसाथ भनेको छैन ।

तर, शान्ति मिसनबाट इजरायल–लेबनान सीमा क्षेत्रमा खटिएका सुस्मिता र रोजिनाहरु दैनिक विस्थापित नागरिकहरूलाई सहयोग गर्ने र घुसपैठ नियन्त्रण गर्ने जिम्मेवारी बोकेर तैनाथ छन् । नेपालले शान्ति सेना पठाउने क्रम सन् १९५८ मा सुरु भएको थियो । नेपालले राष्ट्रसंघको सदस्य बनेको तीन वर्षपछि लेबनानमा रहेको संयुक्त राष्ट्रसंघको लेबनान पर्यवेक्षण समूह (यूनोगिल) मा ५ जना सैन्य पर्यवेक्षक पठाएर खाता खोलेको थियो ।

सन् १९७८ मा, दक्षिणी लेबनानमा इजरायली अतिक्रमणपछि, उसको सेना लेबनानको सीमानाबाट फर्किएको यकिन गर्ने कार्यादेशका साथ त्यहाँ यूनिफिलको स्थापना भएको थियो । त्यसयता नेपाली सेना यूनिफिलको हिस्सा रहँदै आएको छ ।

पूर्व सहायक रथी दिलीप रायमाझी त्यहाँ पुग्ने पहिलो मिसनहरूमध्ये एकमा सामेल थिए । उनी सन् १९८६ मा समेत त्यहाँ खटिए । नेपाली सेना पहिलो मिसनमा जाँदा त्यहाँ इजरेल र यासर अराफातको पीएलओबीच तनाव थियो । दोस्रो मिसन पर्दा हिजबुल्लाह देखा परेको थियो । सन् १९८६ मा किनमेल गरी फर्कँदै गरेका नेपाली सैनिक हिजबुल्लाहको आक्रमणमा मारिएका थिए । सन् १९७८ देखि यूनिफिलमा आवद्ध ३० नेपाली शान्ति सैनिकको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । -तस्वीर : नेपाल आर्मी

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*