नेपाल इन्स्योरेन्सको ७७औं वार्षिकोत्सवः ग्राहक र लगानीकर्ताप्रति आभार, थप उत्कृष्टताको प्रतिवद्धता

८ आश्विन २०८१, मंगलवार १७:२३

काठमाडौँ। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७७औं वर्षगाँठ सम्पन्न गर्दै ७८औं वर्षमा प्रवेश गरेको छ। नेपालको पहिलो बीमा कम्पनीको रूपमा स्थापित संस्था विसं २००४ (सन् १९४७) मा नेपाल मालचलानी तथा बीमा कम्पनी लिमिटेडको नाममा सुरु भएको थियो। यो बीमा कम्पनीले बीमा सेवाको क्षेत्रमा लामो इतिहास कायम राख्दै आफ्नो छुट्टै पहिचान निर्माण गरेको छ।

नेपाल इन्स्योरेन्सको गौरवमय इतिहासमा यो कम्पनीले विभिन्न आर्थिक परिवर्तन र चुनौतीहरूलाई सामना गर्दै आएको छ। ७७ वर्षको आफ्नो यात्रामा कम्पनीले धेरै उतार–चढावहरूको सामना गरेको भए पनि आफ्नो उद्देश्य र प्रतिबद्धतामा अडिग रहँदै, ग्राहकहरूलाई उत्कृष्ट बीमा सेवा प्रदान गर्न सफल भएको छ।

नेपाल इन्स्योरेन्स कम्पनीको स्थापना नेपालको बीमा क्षेत्रको जग निर्माण गर्ने मुख्य कोसेढुंगा मानिन्छ। कम्पनीको स्थापना नेपाल बैंक लिमिटेडको सक्रियतामा भएको थियो। नेपाल बैंक लिमिटेड नेपालकै पहिलो वाणिज्य बैंक हो, जसले नेपाल इन्स्योरेन्स कम्पनीको स्थापनामा ठोस भूमिका खेलेको थियो।

कम्पनीको प्रारम्भिक नाम नेपाल माल चलानी तथा बीमा कम्पनी लिमिटेड थियो, जुन विसं २०१६ मा परिवर्तन भएर नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेड बन्यो। पछि विसं २०४८ मा कम्पनीको नाम फेरि परिवर्तन गरी ‘नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड’ राखियो, जुन नामले अहिले यो कम्पनी परिचित छ।

कम्पनी ऐन २०२१ र बीमा ऐन २०४९ अन्तर्गत इजाजत प्राप्त गर्दै, यो कम्पनीले ७७ वर्षदेखि अविच्छिन्न रूपमा निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको छ।
नेपाल इन्स्योरेन्स कम्पनीले हाल देशभर ५८ शाखाहरूमार्फत सेवा प्रदान गरिरहेको छ। २७५ भन्दा बढी तालिमप्राप्त कर्मचारीहरूको साथमा कम्पनीले बीमा सेवा विस्तार गर्न सफल भएको छ। कम्पनीको शेयर संरचनामा ५१ प्रतिशत शेयर नेपाल बैंक लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लगायतका प्रवर्द्धक संस्थाहरूको छ भने बाँकी ४९ प्रतिशत शेयर सर्वसाधारणको हो।

कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीबद्ध छ, जसले गर्दा यसको शेयरहरू तत्कालै व्यापार गर्न सकिन्छ। उच्च मूल्य कायम गर्दै शेयर बजारमा प्रतिस्पर्धी रहेको नेपाल इन्स्योरेन्स कम्पनीले लगानीकर्ताहरूको मन जित्न सफल भएको छ।

७७ वर्षको गौरवमय इतिहासलाई पूर्णता दिँदै नेपाल इन्स्योरेन्स कम्पनीले आगामी दिनहरूमा अझ आधुनिक, चुस्त र प्रविधिमैत्री बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कम्पनीले नयाँ योजनाहरू र सुविधाहरू सरल र सहज रूपमा बीमितसम्म पुर्याउने योजनामा काम गरिरहेको छ। विशेष गरी, डिजिटल बीमा सेवामा कम्पनीले उल्लेखनीय प्रगति गर्ने लक्ष्य राखेको छ। बीमाको क्लेम प्रक्रिया छिटो र सजिलो बनाउनका लागि, कम्पनीले डिजिटल उपकरणहरूको प्रयोगलाई अझ बढी प्रवर्द्धन गर्ने योजना बनाएको छ।

कम्पनीले बीमा सेवामा नविनतम प्रविधिको प्रयोग गर्दै समयानुकूल आधुनिक योजना र सुविधाहरू बीमितसम्म पुर्याउने आफ्नो प्रतिवद्धता दोहोर्याएको छ। यसैगरी, कम्पनीले आगामी दिनमा ग्राहकहरूको आवश्यकता अनुसार सेवा सुधार गर्ने लक्ष्य राखेको छ। कम्पनीले आफ्नो सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राखेको छ। कम्पनीले विभिन्न सामाजिक कल्याणका कामहरूमा संलग्न रहँदै आएको छ। यसले बीमा सेवाको महत्त्वलाई जनचेतना कार्यक्रमहरू मार्फत देशभर प्रचार गर्दै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*