वाणिज्य बैंकहरुको लाभांश: कृषि र नबिलले लगानीकर्ता मख्ख बनाउन सक्ने, अन्य कुनको क्षमता कति ?

८ आश्विन २०८१, मंगलवार १५:५०

काठमाडौँ । चालु आर्थिक वर्षको लाभांश सिजन सुरु भइसकेको छ । विभिन्न कम्पनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गर्न थालेका छन् । तीन दर्जनभन्दा बढी कम्पनीहरूले २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेका हुन् ।

लाभांश घोषणा गर्ने कम्पनीहरूमध्ये अधिकांश म्युचुअल फन्डहरू हुन् भने केही जलविद्युत, लघुवित्त संस्थाहरूले पनि लाभांशको घोषणा गरेका छन् ।

वाणिज्य बैंकहरूमध्ये भने एभरेष्ट बैंकले सबैभन्दा पहिला लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना शेयरधनीलाई १५.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । यसमा १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश (नगदमा लाग्ने कर सहित) समावेश छ । यद्यपि, बैंकले गत आवमा २९.८६ प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता बनाएको थियो ।

एभरेष्ट बैंकपछि अन्य १० वटा वाणिज्य बैंकहरूले पनि लाभांश घोषणा गर्ने तयारीमा छन् । तर, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, कुमारी बैंक र एनआइसी एशिया बैंकले लाभांश घोषणा गर्न नसक्ने अवस्थामा रहेका छन् ।

लाभांश दिन सक्नेमध्य स्ट्याण्डर्ड चार्टर्ड बैंकले २६.५ प्रतिशतको लाभांश क्षमता रहेको छ । यता, कृषि विकास बैंकले यस वर्ष १७.३७ प्रतिशत लाभांश दिने सम्भावना रहेको छ । अघिल्लो आवमा भने बैंकले शेयरधनीहरुको हात रित्तो बनाएको थियो ।

नबिल बैंकले पनि यस वर्ष १४.२६ प्रतिशत लाभांश दिने क्षमता बनाएको छ । सर्वाधिक नाफा गर्ने नबिलले गत वर्ष पनि ११ प्रतिशत नगद लाभांश दिएको थियो । यस वर्ष नेपाल एसबिआई बैंकले १०.७६ प्रतिशत र सानिमा बैंकले १०.४ प्रतिशत लाभांश वितरण गर्ने सम्भावना छ ।

सामान्य लाभांश दिने बैंकहरूमा प्राइम बैंकले ६.१८ प्रतिशत, लक्ष्मी सनराइजले ५.५० प्रतिशत, नेपाल बैंकले ५.२४ प्रतिशत, प्रभु बैंकले ५.२ प्रतिशत सिटिजन्सले ४.३४ प्रतिशत र माछापुच्छ्रे बैंकले ४.०१ प्रतिशत लाभांश वितरण गर्नेछन्। नेपाल बैंक र प्रभु बैंकले भने अघिल्लो आवमा कुनै लाभांश वितरण गरेका थिएनन् ।

ग्लोबल आइएमई बैंकको यस वर्षको लाभांश क्षमता ३.०६ प्रतिशतमा सीमित रहेको छ । सिद्धार्थ र एनएमबि बैंकको पनि क्रमशः २.६ प्रतिशत र १.३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*