सिमेन्ट निर्यात २० प्रतिशतले घट्यो: व्यापार घाटा न्यूनीकरणमा चुनौती, आन्तरिक बजार कस्तो?

८ आश्विन २०८१, मंगलवार १२:४८

काठमाडौँ । मुलुकको व्यापार घाटा कम गर्न योगदान गरिरहेको सिमेन्ट निर्यातमा यस आर्थिक वर्षको सुरुवातदेखि नै गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को साउन र भदौ महिनामा सिमेन्ट र क्लिंकर (अर्धप्रशोधित सिमेन्ट) निर्यातमा ठूलो गिरावट आएको हो ।

गत वर्षको सोही अवधिको तुलनामा चालु वर्षको दुई महिनामा सिमेन्ट निर्यात २०.४१ प्रतिशतले घटेको छ । साउन र भदौ महिनामा नेपालले ३३ करोड ३० लाख ६९ हजार रुपैयाँ बराबरको एक लाख ३२ हजार ७५४ टन सिमेन्ट तथा क्लिंकर भारततर्फ निर्यात गरेको छ, जुन गत वर्षको दुई महिनामा ४१ करोड ८४ लाख ८६ हजार रुपैयाँ बराबरको ३ लाख ३८ हजार ४०८ टन थियो । यो घट्दो निर्यातले सिमेन्ट उद्योगमा चुनौतिहरू देखा परेको संकेत गरकेो छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा १४ करोड ८४ लाख ६२ हजार रुपैयाँ र भदौमा १८ करोड ४६ लाख ७ हजार रुपैयाँको सिमेन्ट निर्यात भएको हो ।
नेपाल सिमेन्ट उत्पादक संघका पूर्व अध्यक्ष ध्रुव थापाका अनुसार सरकारको प्राथमिकतामा सिमेन्ट उद्योग पर्याप्त रूपमा नपरेकोले अपेक्षा गरेजस्तो निर्यात हुन नसकेको हो । उनले सरकारले नीतिगत सुधार गरेर मात्रै सिमेन्टलाई भारतलगायत अन्य मुलुकसम्म बढी मात्रामा निर्यात गर्न सकिने बताए । थापाका भनाइले सरकारी नीतिहरूको आवश्यकता र सुधारको आवश्यकता औंल्याउँछ, जसले सिमेन्ट उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा अझ प्रभावकारी बनाउन सक्ने उनको तर्क छ ।

यसवर्षको सुरुवातमै सिमेन्ट निर्यातको कमीको मुख्य कारणहरूमा मुलुकभित्रको बढ्दो खपत र विकास निर्माणका कामहरू फस्टाउँदै जानु रहेको एक ब्यवसायीले बताए । उनले भने, ‘नेपालमा विकास निर्माणका काम ठप्प भएकाले आन्तरिक खपत ओरालो लागि रहेको थियो । तर, अहिले मुलुकको अर्थतन्त्र विस्तार लयमा आइरहेको छ । स्वदेशमा नै खपत हुन थालेपछि भारतमा निर्यातमा कमि आएको हो ।’

गत वर्ष आन्तरिक बजारमा खपत घटेपछि व्यवसायीहरू निर्यात तर्फ आकर्षित भएका थिए । तर, अहिले नेपालमा विकास निर्माणका कामहरू अघि बढेसँगै व्यवसायीहरू स्वदेशमै सिमेन्टको बिक्री र प्रतिस्पर्धामा झुम्मिन थालेका छन् ।

हाल नेपालबाट सिमेन्ट उत्पादन गर्ने प्रमुख कम्पनीहरू – घोराही, बालाजी, तानसेन, अर्घाखाँची, र सिजी सिमेन्ट – भारततर्फ निर्यात हुँदै आएका छन् । भारतीय बजारमा नेपाली सिमेन्टको माग बढाउन सिमेन्ट व्यवसायीहरूले विभिन्न किसिमका विज्ञापनहरू पनि गरिरहेका छन् । विशेष गरी अर्घाखाँची, सर्वोत्तम र पाल्पा सिमेन्टले भित्ते विज्ञापनमार्फत आफ्नो बजार विस्तार गर्न खोजिरहेका छन् ।

नेपालमा सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने प्रमुख कच्चा पदार्थ, चुनढुङ्गा, प्रशस्त मात्रामा पाइन्छ। यद्यपि, सिमेन्ट उद्योगले ठूलो सम्भावना हुँदाहुँदै पनि अपेक्षा गरेजस्तो प्रगति गर्न सकेको छैन । यसको मुख्य कारण सरकारी नीतिगत समर्थनको कमी रहेको व्यवसायीहरूको भनाइ छ ।

सिमेन्ट निर्यात घट्नुले मुलुकको व्यापार घाटा न्यूनीकरण गर्न योगदान गरिरहेको एक प्रमुख क्षेत्रमा धक्का पुर्याएको छ । यसका साथै, व्यवसायीहरू सरकारी समर्थन र प्रोत्साहनको खाँचो महसुस गरिरहेका छन्, जसले उद्योगलाई अझ प्रतिस्पर्धात्मक बनाउन सक्नेछ । सिमेन्ट उद्योगमा अझ धेरै सम्भावना रहेकोले, व्यवसायीहरूले निर्यातमा पुनः वृद्धि हुने आशा राखेका छन् । मुलुकभित्रका निर्माणकार्यहरूमा सिमेन्टको खपत बढेसँगै उद्योगले उत्पादन क्षमता वृद्धि गर्दै भविष्यमा निर्यातमा पनि वृद्धि गर्ने योजनामा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*