प्रहरीभित्रै मौलाउँदो अपराध, युवालाई २ दिन थुनेर परिवारसँग ५० लाख असुली

८ आश्विन २०८१, मंगलवार ०९:४०

काठमाडौं । प्रहरी कै संलग्नतामा वित्तीय अपराध बढ्दै गएको दृष्टान्तहरु देखिन थालेका छन् । गोप्य सुराकको गलत उपयोग गर्दै प्रहरीले व्यक्ति तथा संस्थामाथि धरपकड गरेर पेशेबर रुपमै रकम असुली गर्न थालेको दृष्यहरु देखिन थालेका हुन् ।

जिल्ला प्रहरी परीसर काठमाडौंको टोलीले हालै त्यस्तो घटना गराएको छ । क्यानाडामा रहेका एक युवकलाई नेपाल झिकाएर दुई दिन गैरकानूनी थुनामा राखेर प्रहरीको संलग्नतामा ५० लाख असुल गरिएको खुलेको छ । यो घटनामा संलग्न तीन जना प्रहरीलाई कारबाहीको सिफारिस भएको छ ।

क्रिप्टो कारोबारमा संलग्न रहेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गएको भदौ १४ गते आशीष आचार्यलाई पक्रिएको थियो । तर, प्रहरीले क्यानाडामा गरेको कारोबारबारे नेपाल कानून आकर्षित नहुने जान्दाजान्दै यस्तो गरेको ठहर गर्दै तीन जनालाई कारबाहीको सिफारिस गरिएको हो ।

दुई दिन थुनामा राख्दा परिवारसँग बार्गेनिङ गरेर विचौलियामार्फत ५० लाख रुपैयाँ असुलिएको पुष्टि भएको छ । घटनाबारे काठमाडौं उपत्यका प्रहरी कार्यालयले छानविन गर्दा दुई जना प्रहरीको मिलेमतो देखिएको र एक जनाले लापर्वाही गरेको भेटिएको छ ।

एसपी प्रजित केसी नेतृत्वको छानविन समितिले इन्स्पेक्टर प्रतीक सिंह, सहायक हवल्दार गणेश खड्का र प्रहरी जवान साजन शर्मा चपाईलाई कारबाही गर्न सिफारिस गरेको हो । छानविन समितिले सहायक हवल्दार खड्का र प्रहरी जवान खड्कामाथि ठगी कसुरमा मुद्दा चलाउन र लापर्वाही गर्ने इन्स्पेक्टर सिंहलाई सचेत गराउन राय दिएको छ ।

छानविन समितिको प्रतिवेदन अनुसार रकम असुल्ने पूर्वयोजनाअनुसार नै आचार्यलाई क्यानाडाबाट झिकाएर पक्राउ गरिएको हो । १४ भदौका दिन सहायक हवल्दार खड्का विदामा बसेका थिए । तर, क्रिप्टो कारोबार गर्नेको सूचना आएको भन्दै उनी कार्यालय गएर आशीष आचार्य र तेजबहादुर तामाङलाई पक्राउ गरी परिसर लगेका थिए । तामाङलाई एक दिन राखेर छोड्दा आचार्यलाइ थप अनुसन्धान गर्न भन्दै थुनामा राखेर परिवारसँग बार्गेनिङ गरी रकम असुलिएको थियो ।

पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत डीएसपीभन्दा मुनिका अनुसन्धान अधिकारीहरुको असुली धन्दा नै भएको छ । केही समय पहिले सीआईबीका अनुसन्धान अधिकारी कै मिलेमतोमा साढे दुई अर्ब बढीको हुुण्डी कारोबार गर्ने ४५ जनाको गिरोेहलाई उन्मिुक्ति मिलेको थियो । जुन गिरोहका मुख्य नाइकेलाई अदालतबाट मुद्दा खारेजी नहुँदासम्म सीआईबी कै अनुसन्धान अधिकारीले आफ्नो घरमा लुकाएका थिए ।

त्यति मात्र जभई प्रहरीले अदालतबाट अन्तिम फैसला भइसकेर पनि लगत कट्टा नभएका व्यक्तिहरुको सूची जम्मा पारेर प्रतिवादीको घरमै पुगेर पक्राउको धम्की दिएर पैसा असुल गर्ने गरेका छन् । एक जना अधिवक्ताले बीमापोष्टसँग भने, ‘दशैंतिहार चाडबाड मात्रै होइन, सामान्य खर्चको खाँचो पर्नासाथ नजिकको प्रहरी चौकी तथा कार्यालयका अनुसन्धान अधिकारीहरु अदालतबाट लगत कट्टा हुन नसकेका प्रतिवादीहरुको सूची लिएर घरैमा पुगे ब्ल्याकमेल गर्छन् । पैसा नदिए पक्राउ गर्न आएको भन्दै धरपकड नै गर्न खोज्छन् । मेरै क्लाइन्टलाई त्यस्तो गरेको भेटेपछि मैले कतिपयविरुद्ध मुद्दा नै दायर गरेको छुँ ।’ उनी प्रश्न गर्छन्,-जनताको शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा खटिनु पर्ने अधिकारीहरु नै लुटपाटमा उत्रिएपछि कसले आएर अपराध नियन्त्रण गर्छ ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*