लगानीकर्ता अग्रवालद्वारा सिप्ला सेक्युरिटिजमाथि कारबाहीको माग, नेप्सेलाई पठाए पत्र

काठमाडौँ । लगानीकर्ता दिपेन्द्र अग्रवालले स्टक ब्रोकर सिप्ला सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. २०) ले बदमासी गरेको बताउँदै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारबाहीको माग गर्दै निवेदन पेश गरेका छन्। नेप्सेलाई सम्बोधन गर्दै अग्रवालले सिप्ला सेक्युरिटिजले झुटो जानकारी दिएको र उचित कारबाही हुनुपर्ने माग गरेका हुन्। अग्रवालले सिप्ला सेक्युरिटिजले २०८१ जेठ ९ मा रकम भुक्तानी गरी निस्सा पेश गर्न आदेश दिँदा पनि आफ्नो जिम्मेवारी पूरा नगरेको दाबी गरेका छन्। साथै, उनले ब्रोकरले आफूलाई पटक–पटक हिसाब मिलानका लागि बोलाएको भनेर नेप्सेलाई जानकारी गराए पनि कुनै मितिमा वा माध्यमबाट बोलाइएको छैन भन्ने विषयमा स्पष्ट प्रमाण पेश गर्न माग गरेका छन्। उनले ब्रोकरले व्यापार भइसकेपछि विक्रेतालाई रकम भुक्तानी गर्नुपर्ने कानुनी दायित्व रहेको र यस प्रक्रियामा विक्रेताले अनिवार्य रूपमा उपस्थित हुनुपर्दैन भन्ने विषयमा जोड दिएका छन्। साथै, विदेशमा रहेका लगानीकर्तालाई यस प्रक्रियामा बोलाउने चलनप्रति प्रश्न उठाउँदै ब्रोकरको व्यवहारमाथि असन्तुष्टि जनाएका छन्। अग्रवालले नेप्सेका केही कर्मचारी पनि सिप्ला सेक्युरिटिजको गतिविधिमा संलग्न रहेको आशंका व्यक्त गर्दै नेप्सेलाई ब्रोकरको अनियमितताबारे तुरुन्त कारबाही गर्न आग्रह गरेका छन्। साथै, उनले ब्रोकरहरूले लगानीकर्ताबाट २० प्रतिशतसम्मको ब्याज असुल्ने कार्यप्रति नेप्सेले आँखा चिम्लेर बसेको भन्दै आलोचना गरेका छन्। अग्रवालले ब्रोकरहरूलाई समयमै कारबाही नगर्दा नेप्सेको विश्वसनीयतामाथि नै प्रश्न उठेको र यस विषयमा छिटो कदम चाल्न आग्रह गरेका छन्।