बजारको गिरावटले राज्यलाई प्राप्त राजस्व ३९ प्रतिशतले घट्यो, भदौमा उठ्यो साढे २ अर्ब पूँजीगत लाभकर

७ आश्विन २०८१, सोमबार ११:४३

काठमाडौँ । भदौमा पुँजी बजारमा देखिएको गिरावटको असर राज्यले प्राप्त गर्ने राजस्वमा परेको छ । साउनका अस्वभाविक रुपमा शेयर बजार उचालिदा राज्यले एकैमहिनामा गत वर्षको भन्दा बढी राजस्व सकलन गरेको थियो । तर, भदौ बजार निरन्तर ओरालो लाग्दा राजस्व खुम्चिन पुगेको हो ।

सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार भदौ महिनामा सरकारले २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पूँजीगत लाभकर उठाएको हो । समग्र बजार भने भदौ महिनामा १४ प्रतिशत अर्थात् ४२० अंक घटेको थियो । भदौमा १९ दिन खुलेको बजार १३ दिन ओरालो लागेको हो । लगानीकर्ताको मनोबल कमजोर हुँदा शेयर कारोबार समेत खासै उच्च बन्न सकेन ।

शेयर लगानीकर्ताहरुले साउन महिनामा भने सरकारलाई पूँजीगत लाभकर बापत ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँ तिरेका थिए । बजार घटेको बेला भदौमा राज्यले प्राप्त गरेको राजस्व सन्तोषजनक नै देखिन्छ ।

भदौमा व्यक्तिगत दीर्घकालीन पूँजीगत लाभकरवापत ७३ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन भएको छ भने व्यक्तिगत अल्पकालीन पूँजीगत लाभकर १ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

शेयर बजारबाट एक वर्ष वा सोभन्दा कम अवधि सेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले राज्यलाई ७.५ प्रतिशत र एक वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरेर बिक्री भएको शेयरमा आएको नाफामा ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।

पुँजी बजारबाट पछिल्लो समय संकलन भइरहेको राजस्वले नियामक निकायको ध्यान तानेको छ । प्रधानमन्त्री केपी शर्मा ओलि, अर्थमन्त्री विष्णु पौडेललगायतले शेयर बजार अर्थतन्त्रको ऐनाको रुपमा व्याख्या गरी रहेका छन् । शेयर बजारबाट राज्यलाई प्राप्त भइरहेको राजस्वले अर्थतन्त्र सुधारमा समेत ठुलो टेवा पुराउँदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*