बालरोग विशेषज्ञ डा. श्रीधर खनालको साइन्स फिक्सन उपन्यास ‘सावर्णि’ सार्वजनिक

६ आश्विन २०८१, आईतवार १९:०२

काठमाडौं । बालरोग विशेषज्ञ डा। श्रीधर खनालले आफ्नो पहिलो उपन्यास ‘सावर्णि’ सार्वजनिक गरेका छन्, जुन साइन्स फिक्सन तथा एआई र रोबोटिक्समा आधारित छ। उपन्यासको लोकार्पण कार्यक्रम काठमाडौंमा आयोजना गरिएको थियो, जहाँ प्रख्यात व्यक्तित्वहरू प्राध्यापक अभि सुवेदी, लेखक डा। रवीन्द्र समीर, र लेखक सगुना शाहले उपन्यासको बिबेचना गर्दै पुस्तकलाई औपचारिक रुपमा सार्वजनिक गरेका थिए।

कार्यक्रममा बोल्दै लेखक डा. रवीन्द्र समीरले उपन्यासले वर्तमान समयलाई ‘सावर्णि युग’को संकेत गरेको बताए। उनले भने, ‘हामी अब ‘सावर्णि युग’मा प्रवेश गर्दैछौं, जहाँ एआईको उच्चतम प्रयोगले मानिसको संवेदना, सृजनात्मकता, र आत्मियता कमजोर बनाउँदै जानेछ।’ उनले थपे, ‘आजको युगमा मोबाइलबिना खाना खान नसक्ने अवस्थाबाट संकेत मिल्दैछ कि छिट्टै एआईले हामीलाई नियन्त्रण गर्नेछ।’ समीरले उपन्यासमा एआईद्वारा मानिसलाई नियन्त्रण गर्ने भविष्यको भयावह चित्रण भए पनि त्यसविरुद्ध लड्ने उपाय पनि पुस्तकमा समावेश रहेको उल्लेख गरे।

लेखिका सगुना शाहले ‘सावर्णि’लाई उच्चतम कल्पनाशीलता र गहन अध्ययनको परिणामको रुपमा प्रस्तुत भएको बताइन्। उनले भनिन्, ‘सावर्णि भविष्यको युगको कथा मात्र होइन, यो पुस्तकले हामीलाई बाल्यकालको सुन्दर, निर्दोष र निस्फिक्री संसारमा फर्काउँछ। शाहले उपन्यासले अबको पेरन्टिङ कस्तो हुनुपर्छ भनेर सचेत गराएको बताउँदै, पुस्तकले भविष्यको चुनौतीहरू सामना गर्न पाठकलाई तयार पार्ने विश्वास व्यक्त गरिन्।

प्राध्यापक अभि सुवेदीले पुस्तकलाई नेपाली साहित्यमा प्रयोगात्मक उपन्यासको रुपमा चित्रण गर्दै भने, ‘सावर्णि सम्भवतः एआई र रोबोटिक्स युगमा आधारित नेपालको पहिलो उपन्यास हो।’ उनले उपन्यासले न केवल विनाशको चित्रण गरेको छ, बरु भविष्यप्रति आशा र सकारात्मकताको संकेत पनि दिएको बताए।

लेखक डा। श्रीधर खनालले बालरोग विशेषज्ञको रुपमा बालबालिकामा देखिने मनोवैज्ञानिक समस्याहरूलाई नजिकबाट अवलोकन गर्दै उपन्यास लेखेको बताए। उनले भने, ”सावर्णि उपन्यास मनोरञ्जनात्मक मात्र होइन, यो भविष्यको दृष्यलाई वास्तविकता नजिक ल्याउने प्रयास हो।’

उपन्यासलाई बुकहिलले बजारमा ल्याएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*