प्रधानन्यायाधीशमा सिफारिस राउत र राजदूत प्रस्तावित दुई चर्चित नाममाथि उजुरी माग

४ आश्विन २०८१, शुक्रबार ०९:४१

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतबारे उजुरी आह्वान गरेको छ ।

समितिले सार्वजनिक सूचना प्रकाशित गरेर १० दिनभित्र समितिको कार्यालय सिंहदरबार आइपुग्ने गरी उजुरी दिन आह्वान गरेको हो । उजुरी सोझै समितिको सचिवालय वा कुनै पनि जिल्ला प्रशासन कार्यालयमार्फत दिन सकिने बताइएको छ ।

सूचना दिने सूचना दाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रुपमा खुलाउनु पर्ने र उजुरकर्ताले चाहेमा नाम ठेगाना गोप्य राखिने सूचनामा उल्लेख गरिएको छ ।

गएको समेबार बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा वरिष्ठताको आधारमा प्रकाशमान सिंह राउतको नाम सर्वसम्मत सिफारिस गरेको थियो । भदौ २० गते न्याय परिषदले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ८ जनाको नाम सिफारिस गरेको थियो । जसमा राउतसहित, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, डा. मनोज शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको नाम समावेश थियो ।

वरिष्ठताका आधारमा सिफारिस राउतले संसदीय सुनुवाईको सामना गर्नु पर्नेछ । जुन सुनुवाईमा राउविरुद्ध परेको उजुरीमाथि बहस हुनेछ भने संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि मात्रै राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । संसदीय सुनुवाईका क्रममा कुनै तलमाथि भएन भने राउत सर्वोच्च अदालतको ३२औँ प्रधानन्यायाधीश हुनेछन् ।

६३ वर्ष पुगिसकेका राउत २०७३ साउन १७ गते सर्वोच्चको न्यायाधीश नियुक्त भएका थिए । उनले त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस नेपाल ल कलेजबाट कानूनमा स्नातक गरेका छन् । राउतले २०४० सालदेखि २०७३ सालसम्म करिब ३३ वर्ष अधिवक्ताको रुपमा बहस पैरवी गरे । उनको देवानी, फौजदारी, संवैधानिक मुद्दाहरुमा विषयविज्ञता छ ।

राउतले विभिन्न सार्वजनिक संस्थान र निजी संस्थामा कानूनी सल्लाहकारका रुपमा पनि काम गरेको अनुभव छ । नेपाल बार एशोसिएशनमा संवैधानिक समिति संयोजकका रुपमा रमेत राउतले काम गरेका थिए । उनी २०६३ देखि २०६५ सालसम्ममा सर्वोच्च अदालत बार एशोसिएशनको अध्यक्ष थिए । राउतको व्यक्तित्व र चरित्रलाई लिएर विभिन्न आरोपहरु लागेका छन् ।

उनीमाथि उनकै धर्मपत्नी स्वयंले चरम हिंसाको आरोप लगाएकी थिईन् भने तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संसदीय समिति मै राउत दिउँसै डुङ्डुङ्ती ‘जाँड-रक्सी’ गन्हाउने गरेर सर्वोच्च छिर्ने गरेको भनी सार्वजनिक रुपमा भनेका थिए । यस्तै, नागरिकता सम्बन्धी विधेयक प्रमाणिकरणविरुद्ध परेको रिटलगायतमा विवादित आदेश दिएको लगायत विभिन्न आरोपहरु राउतमाथि लागेका छन् ।

सर्वोच्चका प्रधानन्यायाधीशको उमेरहद ६५ वर्ष तोकिएको छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदित भए उनले आगामी २०८२ चैत १८ गतेसम्म न्यायपालिकाको नेतृत्व सम्हाल्नेछन् ।

दुई राजदूतविरुद्ध पनि उजुरी आह्वान
यस्तै, संसदीय सुनुवाइ समितिले दुई राजदूतबारे पनि उजुरी आह्वान गरेको छ । अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालउपर समितिले सार्वजनिक उजुरी आह्वान गरेको हो ।

चित्रलेखा यादव पूर्वमन्त्री हुन् भने लम्साल परराष्ट्र सचिव हुन् । लम्सालको सिफारिस सरकारले निर्णय गरेको २६ दिनसम्म लुकाएको थियो । उनलाई सरकारले युरोपियन युनियन समेत हेर्नेगरी बेल्जियमका लागि राजदूत सिफारिस गरेको हो ।

यो पनि नछुटाउनुहोस्

सर्वोच्च बारका पूर्वअध्यक्ष राउत प्रधानन्यायाधीश सिफारिस, के हो उनको विज्ञता ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*