६ महिनादेखि ठप्प मलेसिया रोजगारी खुल्यो, रोमानिया पनि व्यवस्थित बनाइँदै

४ आश्विन २०८१, शुक्रबार ०८:४१

काठमाडौं । पछिल्लो ६ महिनादेखि रोकिएको मलेसिया रोजगारी फेरी खुल्ने भएको छ । मलेसिया सरकारले केही निश्चित क्षेत्रमा वाह्य कामदार लिने अनुमति दिएसँगै नेपालसहिनत अन्य श्रमिक स्रोत देशबाट कामदार लैजान फेरि सुरु हुने भएको हो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व पदाधिकारीहरुका अनुसार मलेसियाले प्लान्टेशन, गार्मेन्टलगायतका क्षेत्रमा विदेशी कामदार लैजान कोटा खुला गरेको छ ।

मलेसियाका केही रोजगारदाता कम्पनीले नेपालबाट माग गर्ने कामदारको मागपत्र प्रमाणिकरणका लागि दूतावासमा समेत पेश गरिसकेको बताइएको छ । मलेसियाले विगत १ वर्षयता विदेशबाट कामदार आपूर्ति गर्ने कोटा कम गर्दै ६ महिना यता पूर्ण रुपमा बन्द नै गरेको थियो । अब भने मलेसियाले क्रमशः थप क्षेत्रको रोजगारी खुला गर्दै लैजाने बताइएको छ ।

रोमानियालाई व्यवस्थित गर्दै सरकार
सरकारले रोमानिया रोजगारीलाई व्यवस्थित गर्ने तयारी गरेको छ । व्यक्तिगत रुपमा रोजगारीमा जानेहरुको संख्या ५७९ प्रतिशतले बढेसँगै विभिन्न समस्याहरु निम्तिएको भन्दै सरकारले रोमानिया गन्तव्यलाई व्यवस्थित गर्न लागेको हो ।

व्यक्तिगत एवं मेनपावर कम्पनीमार्फत रोमानिया जाँदा नेपाली कामदारलाई सेवा सुल्क तथा सुरक्षामा चुनौति देखिएको सरकारको आँकलन छ । व्यक्तिगत तथा मेनपावरमार्फत रोमानिया जाँदा चर्को शुल्क तिर्नु परेको गुनासो सरकारसमक्ष पुगेको छ । त्यति मात्रै नभई विभिन्न वहानामा ठगिने समस्या समेत बढेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले पछिल्ला दिनमा रोमानिया लगायत युरोपेली श्रम गन्तव्यहरुमा मागपत्र प्रमाणित गर्न समस्या देखिएकाले प्रोटोकल अनुसार व्यवस्था गर्न लागिएको बताए । उनका अनुसार यो काम भएपछि अधिकांश समस्या समाधान हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*