दुर्गा प्रसाईं, दीपक मनाङेहरुले जुनबेला पनि उपद्रो मच्चाउनसक्ने भन्दै गृह प्रशासन सतर्क

२ आश्विन २०८१, बुधबार ११:५३

काठमाडौं । अभियन्ता दुर्गा प्रसाईं र हालै गण्डकीको वनमन्त्रीबाट राजीनामा दिएका प्रदेश सांसद दिपक मनाङेलगायतले जतिबेला पनि उपद्र मच्चाउनसक्ने भन्दै गृह प्रशासनले सर्तकता अपनाएको छ ।

हालै शान्ति सुरक्षाको कारण देखाउँदै गृह मन्त्रालयले यात्रा इजाजतप्राप्त हातहतियार समेत सार्वजनिक स्थलमा लैजान नपाउने भन्दै राजपत्रमा सूचना निकालेको छ । जुन सूचनाको भाषा तथा प्रयोजनले मुलुकमा सुरक्षा खतरा उत्पन्न भएको रुपमा अथ्र्याउन थालिएको छ ।

गृह प्रवक्ता ऋषिराम तिवारीले हातहतियार तथा खरखजना ऐन २०१९ को निषेधित क्षेत्र तोक्न सकिने व्यवस्थालाई टेकेर क्याविनेट डिसिजन अनुसार इजाजतप्राप्त हातहतियार निषेध गर्ने सम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरिएको बताए ।

तर, यसबारे निर्णय लिँदा केन्द्रीय सुरक्षा समितिमा पर्याप्त छलफल हुनुपर्ने सुरक्षामामिलाका जानकारहरुले बताएका छन् । आत्म रक्षाका लागि इजाजत लिई हातहतियार राख्न पाउने नागरिकको अधिकारविपरीत सरकारले विना छलफल डरको मानसिकताबाट यो सूचना निकालेको हुनसक्ने सुरक्षा मामिलाका जानकार एवं प्राध्यापक धरणिधर खतिवडाले बीमापोष्टलाई बताए ।

उनले भने, ‘यतिबेला संसद अधिवेशन अन्त्य भएको अवस्था छ । कतै आन्दोलन वा विरोधको स्वर सुनिएको छैन । सहकारी पीडितहरु समेत सुतेको अवस्था छ । यो अवस्थामा संसद, न्यायालय, सरकारी कार्यालय, अस्पताल, विमानस्थल, सार्वजनिक सवारी साधन, धार्मिक संस्था एवं शैक्षिक स्थलमा लैजान रोक लगाइनु मेरो विचारमा डर वा त्रासपूर्ण मानसिकताको उपज हो ।’

खतिवडाका अनुसार अहिले सत्तामा बस्नेहरु सामान्य टिप्पणी तथा आलोचना सहन गर्न सक्दैनन् । शान्त र दृढ संकल्पित मान्छेहरु बाहिर बोल्दैनन् परिपक्व निर्णय लिन्छन्, खतिवडा भन्छन्, ‘अवसरवादले मुलुक बर्बाद भइसकेको छ । नेतामा क्षमता छैन । कर्मचारीतन्त्र अवसरवादमा चुर्लुम्म छ । गृह प्रशासन नबुझेका व्यक्तिहरु भटाभट गृहसचिव बनिरहेका छन् । सूचना वा सर्कुलरको भाषा र प्रयोजन थाहा नपाउने कर्मचारीलाई प्रयोग गरेर राजनीतिक संयन्त्रले आफु अनुकुल शासन गरिरहेको छ ।’

गृहमन्त्रालयका अनुसार अबदेखि न्यायिक निकाय, संसद भवन तथा परिसर, सरकारी कार्यालय, अस्पताल, विमानस्थल, सार्वजनिक सवारी साधन, धार्मिक तथा शैक्षिक स्थलमा इजाजतप्राप्त हातहतियार समेत लैजान पाइने छैन । यस्तै, सिनेमा हल, व्यावसायिक भवन, हाटबजार तथा सपिङ मल, सभा, जुलुस भएको स्थान, पुरातात्विक र संरक्षित स्थल, बालगृह तथा प्रचलित कानूनले निषेधित गरेका अन्य क्षेत्रमा समेत लाइसेन्सप्राप्त हातहतियार लैजान नपाइने भएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अङ्गरक्षकले न्यायालय परिसरमा हतियार लगेको विषयमा सर्वोच्च अदालतले यसबारे आवश्यक कानून बनाउन भनी दिएको आदेश समेतको पालना गर्दै राजपत्रमा सूचना प्रकाशित गरेको गृह मन्त्रालयको जिकिर छ ।

तर, दुर्गा प्रसाईं, दिपक मनाङ्गेलगायतका व्यक्ति तथा समूहहरु जतिबेला पनि उश्रृंलतामा उत्रिन सक्ने खतरा रहेको भन्दै मामिलाका जानकारहरुले राजपत्रको सूचनाबारे सरोकारवाला मन्त्रालय स्यवंले थप स्पष्ट पार्नुपर्ने बताएका छन् । ती जानकारहरुका अनुसार प्रत्येक टोलटोलमा बारुदखाना एवं गारतसहितका सुरक्षा संयन्त्र हुँदाहुँदै गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्नुले अर्थ राख्छ । त्यसको थप स्पष्टता नआएसम्म कुनै सिमित क्षेत्र नभई देशभर नै सुरक्षा खतरा बढेको रुपमा अर्थ लाग्छ भने देश विदेशमा यसको गलत सन्देश जान्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*