विकास बैंकको नाफा २६% ले बढ्योः शाइन आक्रामक-मुक्तिनाथलाई पछ्याउँदै महालक्ष्मी र गरिमा, पुच्छरमा लुम्बिनी
काठमाडौँ । एक महिनाकै अवधिमा राष्ट्रिय स्तरका विकास बैंकको नाफा २६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन महिनाको तथ्याङ्क अनुसार राष्ट्रिय स्तरका ८ विकास बैंकले ८४ करोड ६० लाख रुपैयाँ नाफा कमाएका हुन् । गत वर्ष साउन महिनामा भने ६७ करोड १९ लाख रुपैयाँ नाफा कमाएका थिए ।
साउन महिनामा सर्वाधिक नाफा कमाउने बैंकमा साइन रेसुङ्गा बैंकको पहिलो स्थानमा रहेको छ । एक महिनाको अवधिमा बैंकले २० करोड २० लाख रुपैयाँ नाफा कमाएको हो । गत साउनको तुलनामा बैंकको नाफा १८० प्रतिशतले बढी हो । गत वर्ष पहिलो महिनामा साइनले ७ करोड १९ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।
त्यस्तै, सर्वाधिक नाफा कमाउने दोस्रो नम्बरमा मुक्तिनाथ विकास बैंक रहेको छ । साउनमा बैंकको नाफा ०.९५ प्रतिशतले बढेर १६ करोड ९६ लाख रुपैयाँ पुगेको हो । गत वर्ष साउनमा भने बैंकले १६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो ।
राष्ट्रिय स्तरका विकास बैंकमा नाफा कमाउने तेस्रो नम्बरमा रहेको गरिमा विकास बैंकको ३४.६३ प्रतिशतले बढेर १० करोड ५७ लाख रुपैयाँ, चौथो नम्बरमा गरिमा विकास बैंकको १९.२७ प्रतिशतले बढेर ९ करोड ४६ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको ५.५४ प्रतिशतले बढेर ८ करोड ५८ लाख रुपैयाँ, ज्योति विकास बैंकको ४६.६१ प्रतिशतले बढेर ८करोड ३७ लाख रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकको २०.५२ प्रतिशतले बढेर ६ करोड ८१ लाख रुपैयाँ रहेको छ ।
लुम्बिनी विकास बैंकको नाफा मात्र घटेको छ । साउन महिनामा विकास बैंकको नाफा ५४.१४ प्रतिशतले घटेको छ । गत साउनमा ७ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष साउनमा ३ करोड ६१ लाख रुपैयाँ मात्र कमाएको देखिएको हो ।