नेपाली पर्यटक भित्र्याउन काठमाडौंमा इन्डोनेसियाको सेल्स मिसन

१ आश्विन २०८१, मंगलवार ०९:१९

काठमाडौं । इन्डोनेसियाको पर्यटन तथा कृयटिभ–इकोनोमी सम्बद्ध मन्त्रालय तथा एजेन्सीले इन्डोनेसियालाई नेपाली पर्यटकहरूका लागि मनपर्ने गन्तव्यको रूपमा कायम राख्न काठमाडौंमा बिक्री मिसन गरेको छ ।

सेल्स मिसनमा मन्त्रालय, बङ्गलादेश र नेपालस्थित इन्डोनेसियाली दूतावास सहित ३० भन्दा बढी पर्यटन उद्योग तथा कम्पनीहरूले सहकार्य गरेका थिए । इन्डोनेसियामा नेपाली पर्यटकको संख्यामा सकारात्मक वृद्धि देखिएकाले इन्डोनेसियाले थप प्रवर्द्धनको कार्यक्रम ल्याएको हो ।

नेपालबाट इन्डोनेसिया जाने पर्यटकको संख्या सन् २०२२ को तुलनामा सन् २०२३ मा १८६ प्रतिशतले बढेको थियो । पर्यटक सख्या सन् २०२४ को जनवरीदेखि जुलाईसम्ममा सन् २०२३ को सोही अवधिको तुलनामा ५,०५८ वा ७०.४८ प्रतिशतले वृद्धि भएको थियो । सन् २०२३ को सोही महीनाको तुलनामा नेपाल आउने पर्यटकको संख्या ९१.९ प्रतिशतले बढेको छ ।

इन्डोनेसिया टुरिजम अपडेट दिँदै इन्डोनेसियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयकी पर्यटन उपमन्त्री नी माडे आयु मार्थिनी नि माडेले इन्डोनेसिया भ्रमण गर्ने नेपाली पर्यटकको बढ्दो संख्याले आफूहरू उत्साहित रहेको बताइन् ।

पर्यटकको संख्या बढाउन सेल्स मिसन र सचेतना अभियान जस्ता प्रवर्द्धनात्मक गतिविधिहरू नियमित रूपमा सञ्चालन गर्ने पनि उनले बताइन् । पर्यटकको बढ्दो संख्याले इन्डोनेसिया नेपाली पर्यटकहरूका लागि अझ बढी लोकप्रिय हुँदै गइरहेको र साहसिक पर्यटनको नयाँ गन्तव्यको रूपमा पनि विकसित भइरहेको मार्थिनीले बताइन् ।

सेल्स मिसनमा सहभागीहरूले नेपाली पर्यटकलाई इन्डोनेसिया आउन अझै पनि दुई वटा चुनौती कनेक्टिभिटी र भिसा रहेको बताए । नेपालसँग प्रत्यक्ष सम्पर्क नभए पनि अन्य सहर वा पर्यटकीय हब भएका देशहरू जस्तै मलेसिया, सिंगापुर लगायतको कनेक्टिभिटीलाई उपयोग गर्नु पर्ने मार्थिनीले बताइन् । मलेसिया एयरलाइन्स, एयर एसिया वा हिमालय एयरलाइन्स साथै सिंगापुर, भियतनाम, बैंकक विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्ससँग सहकार्य गरेर पर्यटकलाई सहज सेवा दिन सकिने मार्थिनीको भनाइ थियो ।

नेपाली पर्यटकहरूले इन्डोनेसिया भ्रमण गर्न भिसाको लागि बढी रकम तिर्नुपर्ने गुनासोलाई सम्बोधन गर्दै मार्थिनीले इन्डोनेसियाको भ्रमण प्याकेज अन्य देशको तुलनामा उचित मूल्यको भएकाले भिसा शुल्कले भार नपर्ने बताइन् ।

काठमाडौंमा भएको वन्डरफूल इन्डोनेसिया सेल्स मिसनमा बाली र त्यसभन्दा बाहिरका पाँच वटा नयाँ गन्तव्यहरू प्रस्तुत गरिएको थियो । जसमा लेक टोबा, बोरोबुदुर मन्दिर, मण्डलिका, लाबुआन बाजो र लिकुपाङका ५ सुपर मुख्य गन्तव्यहरू समावेश थिए । सो अवसरमा सेल्स मिसनले माइस पर्यटन (बैठक, प्रोत्साहन, सम्मेलन र प्रदर्शनी), परिवार, विवाह, हनिमुन र विलासिता सहित नयाँ पर्यटन उत्पादनहरू पनि प्रस्तुत गरेको थियो ।

सेल्स मिसनले सिंगापुर वा मलेसियाबाट सहजै पुग्ने गन्तव्यको रूपमा बाटम बिन्टानलाई अघि सारेको जानकारी गराएको छ । सिंगापुरबाट जो बाटम–बिन्टान पुग्न १ घण्टा भन्दा कम समय लाग्ने र सो गन्तव्यमा निलो लगुन, वाटर स्पोर्ट्स र अन्य प्राकृतिक आकर्षण रहेका छन् । बाटम बिन्टान बाहेक, बान्डुङ्गलाई द्रुत रेल सेवाले जोडेर जकार्ताबाट ३० मिनेटमा पुग्न सकिने तथा ब्रोमो पुग्न सुराबाया एयरपोर्ट हुँदै बालीबाट एक घण्टाको उडानमै पुग्न सकिन्छ ।

नेपाल भ्रमणका क्रममा उपमन्त्री मेड मार्थिनीले बङ्गलादेश र नेपालका लागि इन्डोनेसियाका राजदूतहरू हर्तान्तो सुबोलोसँग नेपाल पर्यटन बोर्डका अधिकारीहरूसँग भेट गरी पर्यटन क्षेत्रमा सहयोग सुदृढ गर्न दुवै पक्षको प्रयास र प्रतिबद्धताबारे छलफल पनि गरेका छन् । सेल्स मिसनले ‘इन्डोनेसियामा नेपाली पर्यटकहरूलाई सहज पहुँच प्रदान गर्न सरोकारवालाहरूसँग थप सहकार्य जारी राख्ने प्रतिबद्धता पनि जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*