सूचीकृत ३३ कम्पनीहरुले गरे लाभांश घोषणा, कसले कति दिदैछन् ? (सूचीसहित)

३१ भाद्र २०८१, सोमबार १५:४३

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएका ३३ कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन् । जसमा दुई बैंक, पाँच हाइड्रोपावर, एक लघुवित्त, एक होटल र हाथवे इन्भेष्टमेन्टसहितका विभिन्न म्यूचुअल फण्डहरुले प्रतिफल घोषणा गरेका हुन् ।

हाल सम्म तीन दर्जन कम्पनीहरुले गत आर्थिक वर्ष २०८०।०८१ को मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । सो कम्पनीहरुमध्ये अधिकांशले लाभांश पारित गर्न वार्षिक साधारणसभा पनि आह्वान गरेका छन् ।

वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी लाभांश क्षमता भएको एभरेष्ट बैंकले १५ दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा बैंकले लगानीकर्ताहरुलाई १० प्रतिशत बोनश र ५ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

विकास बैंकहरुमध्ये कामना सेवा विकास बैंक सबैभन्दा अगाडि लाभांश घोषणा गर्ने बैंक भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सात प्रतिशत बोनश र पाँच प्रतिशत नगदसहित १२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

पाँच हाइड्रोपावरः

नेप्सेमा सूचीकृत भएका हाइड्रोपावर कम्पनीहरुमध्ये पाँच वटाले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेका छन् । कम्पनीहरुमा अपि पावर कम्पनीले नौ प्रतिशत बोनश र ० दशमलव ४७३७ प्रतिशत नगदसहित ९ दशमलव ४७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

त्यस्तै, सुपरमाई हाइड्रोपावरले सात प्रतिशत बोनश र पाँच दशमलव ६३ प्रतिशत नगदसहित कुल १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । साथै, माण्डु हाइड्रोपावरले १२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सो कार्यको लागि कम्पनीले वार्षिक साधारण सभा समेत आह्वान गरिसकेको छ ।

पछिल्लो समय शेयर बजारमा सर्वाधिक कारोबार भइरहेको सिईडिबीले ११ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले साथै हकप्रद निष्काशनको तयारी पनि गरेको छ ।

भगवती हाइड्रोपावरले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई चार प्रतिशत बोनश र १० दशमलव ७३ प्रतिशत नगदसहित १४ दशमलव ७३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

लघुवित्त

गुराँस लघुवित्तले पनि गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरिसकेको छ । कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई १४ दशमलश २५ नगद र ०.७५ प्रतिशत बोनशसहित १५ प्रतिशतल लाभांश प्रस्ताव गरेको छ ।

म्युचुअल फण्ड

राष्ट्रिय वाणिज्य बैंकको प्रबर्धन रहेको आरविवि मर्चेन्ट बैंकिङले आरविवि म्युचुअल फण्ड १ का इकाईधनीहरूलाई ३.८१ प्रतिशत र आरविवि म्युचुअल फण्ड २ का इकाईधनीहरूलाई ८.७४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।

एनआइएमबि एस क्यापिटलले एनआईविएल ग्रोथ फण्डका इकाईधनीहरूलाई ६.३५ प्रतिशत, सिद्धार्थ क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का इकाईधनीहरूलाई ७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

एनआईसी एशिया सेलेक्ट–३० (इण्डेक्स फण्ड) ले १४ प्रतिशत, फ्लेक्सी क्याप फण्डले १०.५० प्रतिशत, डाइनामिक डेप्ट फण्डले १० प्रतिशत, ग्रोथ फण्डले ९.५० प्रतिशत र ब्यालेन्सड् फण्डले ९.२५ प्रतिशतका दरले आफ्ना इकाईधनीहरूलाई प्रतिफल वितण गर्ने भएको छ ।

सानिमा इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डका इकाईधनीहरूलाई करसहित १० प्रतिशत र सानिमा ग्रोथ फन्डका इकाईधनीलाई करसहित १० प्रतिशतका दरले प्रतिफल पाउने भएका छन् ।

कुमारी क्यापिटलले कुमारी इक्वीटी फण्डका इकाईधनीहरूलाई कर सहित ९.५० प्रतिशत र कुमारी धनबृद्धि योजनाका इकाईधनीहरुलाई ९.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।

लक्ष्मी सनराइज क्यापिटलले सनराइज फस्र्ट म्युचुअल फण्डका इकाईधनीहरूलाई करसहित १२.५ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फण्डका इकाईधनीहरूलाई ४.५ प्रतिशत वितरण गर्ने भएको छ । यस्तै, लक्ष्मी उन्नति कोषका इकाईधनीहरूलाई करसहित ७.५ प्रतिशत र लक्ष्मी भ्यालु फण्ड २ का इकाईधनीहरूलाई ४.५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

सूची यस प्रकार रहेको छ : 

कम्पनीहरुले घोषणा गरेको विवरणको अधारमा तयार गरीएको लाभांश प्रस्ताव

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*