बजारमा गिरावटको निरन्तरताः डुब्दै लगानीकर्ताको अर्बौ रकम, परिसूचक र कारोबार दुबै खुम्चियो
काठमाडौँ । पछिल्लो समय पुँजी बजारमा गिरावटको निरन्तरता देखिएको छ, जसले लगानीकर्तालाई ठूलो निराशा दिएर राखेको छ । शेयर बजारको प्रमुख शत्रु मानिएको बैंक ब्याजदरहरू पनि घटिरहेका छ । तर, यसले बजारमा सुधार ल्याउन सकेको छैन । असोज महिनामा नौ वटा बैंकले ब्याजदर घटाएका छन्, तथापि, यसका बावजूद बजारमा सकारात्मक परिवर्तन आएको छैन ।
शेयर बजारको गिरावटका कारण धेरै लगानीकर्ताको अर्बौंको रकम गुमेको छ । विशेषतः जब बजार उच्च अंकमा पुग्ने आशा गरिएका लगानीकर्ताले परिसूचक ३००० बिन्दुमा शेयर खरिद गरेका थिए, बजार अहिले २५०० बिन्दुमा आइपुगेको छ । सो समयमा शेयर खरिद गर्ने लगानीकर्ताले हाल ठूलो क्षति भोग्नु परेको हो ।
लगानीकर्ताको मनोबल अहिले निकै कमजोर बनेको छ, जसको कारण उनीहरू शेयर बिक्री गर्ने तर्फ बढी हाबी भएका छन् , दशै नजिकिदै गएकोले खर्चको जोहो गर्नुपर्ने आवश्यकता परेकाले लगानीकर्ताले शेयर बिक्री गर्ने सम्भावना बढेको छ । यस परिप्रेक्ष्यमा बजारमा थप गिरावट आउने अनुमान गरिएको छ । यसले लगानीकर्ताको मानसिकतामा थप असर पर्न गरेको छ । लगानीकर्ताले बजारको प्रवृत्ति अनुगमन गर्दै, साना वा ठूलो जोखिमको विचार गरेर आफ्नो लगानी रणनीति समायोजन गर्नुपर्ने अवस्था देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५७.०३ अकंले घटेर २५८०.७६ बिन्दुमा कायम भएको छ । आज ३१२ कम्पनीको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३६ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.५९ प्रतिशत, विकास बैंक समूहको २.७२ प्रतिशत, फाइनान्स समूहको ५.६६ प्रतिशत, होटल तथा पर्यटन समूहको २.७९ प्रतिशतसहित १३ वटै उपसूचक घटेका हुन् ।
सोमबार १४ कम्पनीको शेयर मूल्य बढ्दा २२७ कम्पनीको मूल्य घटेको छ ।