सञ्चय कोषको ६३औं वार्षिकोत्सवः कर्मचारी लाभ र भविष्य सुरक्षित गर्ने ६ दशकको यात्रामा सफलता

३१ भाद्र २०८१, सोमबार १२:११

काठमाडौँ । श्रमजीवी कर्मचारीहरूको भविष्यलाई सुरक्षित बनाउने उद्देश्यले स्थापना भएको कर्मचारी सञ्चय कोष आजबाट स्थापनाको ६३ औं वर्षमा प्रवेश गर्दैछ । सुरुवाती चरणमा सीमित क्षेत्रहरूमा सञ्चालन भए पनि, अहिले कोषले विभिन्न क्षेत्रमा व्यापक रूपमा सामाजिक सुरक्षा सुविधा प्रदान गर्दै आएको हो ।

कोषले सञ्चयकर्ताको सेवानिवृत्त जीवनलाई सुरक्षित र समृद्ध बनाउने लक्ष्यका साथ ठूला परियोजनाहरूमा लगानी गर्दै निरन्तर विकास गरिरहेको छ । कोषका प्रशासक सि. ए. जितेन्द्र धितालले कोषको ६३औं वार्षिकोत्सवको अवसरमा सम्पूर्ण सञ्चयकर्ता, योगदानकर्ता, र कर्मचारी परिवारलाई हार्दिक शुभकामना व्यक्त गर्दै कोषको समृद्ध इतिहास र सफलताप्रति गर्व प्रकट गरेका छन् । उनले कोषले लामो समयदेखि सञ्चालन गर्दै आएका सामाजिक सुरक्षा कार्यक्रमहरूको महत्त्वलाई उजागर गर्दै, कोषको उद्देश्य सँधै सञ्चयकर्ताको हित र भलाइमा केन्द्रित रहेको बताए। सञ्चयकर्ताको योगदानले नै कोषलाई बलियो बनाएको र आगामी दिनमा कोषले थप प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

कोषले पछिल्ला वर्षहरूमा सूचना प्रविधि, जलविद्युत, र पूँजी बजारमा गरेको लगानीका सफलताहरूलाई विशेष रूपमा उल्लेख गर्दै, आगामी दिनमा अझ नवीन र रणनीतिक कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको उनले बताए ।

सञ्चयकर्ता संख्या र सेवा विस्तार

विगत ६३ वर्षको यात्रामा, कर्मचारी सञ्चय कोषले लाखौं नेपाली कर्मचारीहरूलाई सामाजिक सुरक्षा प्रदान गर्दै आएको छ। हालसम्म कोषमा ५ लाख ७५ हजार सञ्चयकर्ता आबद्ध छन् भने ३३ हजार ६ सय कार्यालयहरूबाट सेवा प्रवाह भइरहेको छ । यसको अलावा, निवृत्तभरण कोषमा ८० हजार ४ सय योगदानकर्ताहरू छन्, जुन संस्थाको विश्वासिलो नेटवर्कको प्रमाण हो ।

कुल स्रोत र लगानी

२०८१ असार मसान्तसम्म कर्मचारी सञ्चय कोषको कूल स्रोत ५७१.३३ अर्ब रुपैयाँ पुगेको छ । यसमध्ये, कुल लगानी ५५१.५३ अर्ब रहेको छ । जगेडा कोषमा ३५.५१ अर्ब र अन्य दायित्वहरूमा ६.१३ अर्ब रहेको जानकारी पनि सार्वजनिक गरिएको छ । कोषले विभिन्न क्षेत्रमा लगानी गर्दै आफूलाई दिगो रूपमा आर्थिक क्षेत्रमा बलियो बनाएको छ ।

ठूला जलविद्युत परियोजनाहरूमा लगानी

कर्मचारी सञ्चय कोषले ठूला जलविद्युत परियोजनाहरूमा पनि उल्लेखनीय भूमिका खेलेको छ । कोषले करिब ११७२ मेगावाट विद्युत् उत्पादनका लागि १० वटा जलविद्युत परियोजनाहरूमा करिब ६८ अर्ब रुपैयाँको कर्जा प्रवाह गरेको छ। यसले नेपालको ऊर्जा क्षेत्रलाई बलियो बनाउन र जलविद्युत उत्पादनमा महत्वपूर्ण योगदान पु¥याएको छ ।

पूँजी बजारमा कोषको उपस्थिती

पूँजी बजारको विकासलाई अगाडि बढाउन कोषले विभिन्न बैंक तथा वित्तीय संस्थासहित २३ वटा कम्पनीहरूमा करिब १२ अर्ब रुपैयाँको शेयर लगानी गरेको छ। यसबाहेक अन्य क्षेत्रका विभिन्न १३ परियोजनाहरूमा करिब २९ अर्ब रुपैयाँको कर्जा प्रवाह पनि गरेको छ। यो लगानीले नेपालको अर्थतन्त्रलाई सबल बनाउन र दीर्घकालीन आर्थिक वृद्धिमा योगदान पु¥याउन सहयोग गरेको छ ।

सामाजिक सुरक्षा सुविधाहरू

कर्मचारी सञ्चय कोषले आफ्नो सामाजिक सुरक्षा योजनाहरूलाई समय सापेक्ष अद्यावधिक गर्दै आएको छ । कोषले सञ्चयकर्ता वा उनका परिवारलाई विभिन्न स्वास्थ्य उपचार योजनाहरू, दुर्घटना क्षतिपूर्ति योजना, सुत्केरी तथा शिशु स्याहार योजना, र काजकिरिया अनुदान योजना जस्ता कार्यक्रमहरू मार्फत आर्थिक सुरक्षा प्रदान गर्दै आएको छ।

सञ्चयकर्ताहरूलाई हरेक आर्थिक वर्षमा साधारण रोगका लागि अधिकतम १ लाख रुपैयाँ र घातक रोगका लागि १० लाख रुपैयाँसम्मको उपचार खर्च सोधभर्ना गरिन्छ। यसका साथै दुर्घटना क्षतिपूर्तिमा २ लाख रुपैयाँसम्म र सुत्केरी स्याहारका लागि प्रति प्रसूति ७,५०० रुपैयाँसम्मको अनुदान प्रदान गरिन्छ ।

घर र सापटी सुविधाहरू

कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताहरूका विभिन्न आवश्यकतालाई ध्यानमा राखी सापटी सुविधा पनि प्रदान गर्दै आएको छ। २०८१ असार मसान्तसम्म कोषले ४१,६७० जना सञ्चयकर्तालाई घर सापटी, ६१२१ जना सरल सापटी, २५७० जना शैक्षिक सापटी, २८३१ जना घर मर्मत सापटी, र ६७३ जना जग्गा खरिद सापटी उपलब्ध गराएको छ ।

सापटी फिर्ता भुक्तानी प्रक्रिया पनि विद्युतीय माध्यमबाट ७६.४७ प्रतिशत सफलतापूर्वक सम्पन्न भएको छ।

सूचना प्रविधिमा अग्रसरता

कर्मचारी सञ्चय कोषले सूचना प्रविधिमा पनि ठूलो फड्को मार्दै डिजिटल सेवाहरू विस्तार गरेको छ। विद्युतीय माध्यमबाट सञ्चयकर्ताहरूलाई ई–सर्भिस सेवा प्रदान गर्ने, विशेष सापटीलाई अनलाइन पद्धतिबाट प्रवाह गर्ने, र भुक्तानी तथा फिर्ता भुक्तानी कार्यहरू विद्युतीय रूपमा सम्पन्न गर्ने सुविधाहरू कोषले प्रदान गर्दै आएको छ।

कर्मचारी सञ्चय कोषको योगदान

कर्मचारी सञ्चय कोषको योगदान केवल आर्थिक क्षेत्रमै सीमित छैन। यसले नेपाली कर्मचारीहरूको दीर्घकालीन सुरक्षा, सामाजिक हित, र पारदर्शी वित्तीय व्यवस्थापनलाई प्राथमिकता दिदैं आएको छ। सञ्चयकर्ताको सेवानिवृत्त जीवनलाई सुरक्षित र समृद्ध बनाउन कोषले निर्वाह गरेको भूमिका महत्वपूर्ण छ ।

भविष्यका योजनाहरू

कोषले पोखरामा सञ्चयकर्ता आवास योजना कार्यान्वयन गरेको छ भने सुन्धारा र लगनखेलमा व्यवसायिक भवन सञ्चालनमा ल्याएको छ। कोषले आगामी दिनमा सामाजिक सुरक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउन र देशभरका सञ्चयकर्ताहरूलाई सुरक्षित भविष्यको प्रत्याभूति गराउन नयाँ योजना र रणनीतिहरू अघि बढाउँदै छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*