भन्सार प्रमुखहरुको सरुवामा अर्थमन्त्रीको सेटिङ् !, मन्त्रालयमा खैलाबैला

३१ भाद्र २०८१, सोमबार १०:५४

काठमाडौं । अर्थ मन्त्रालयले दुई सातामा ७७ जना उपसचिवको सरुवा गरेकामा ११ भन्सार प्रमुखको सरुवामा चखलेल भएको भन्दै कर्मचारीवृत्तमा असन्तुष्टि चुलिएको छ । राजस्व प्रशासन समूहका उपसचिवको सरुवा विशेष परिस्थितिबाहेक दुई वर्षको अवधिमा मात्र गरिनु पर्ने कानूनी प्रावधान रहे पनि सेटिङमा ११ भन्सार प्रमुखको सरुवा गरिएको बताइँदै छ । यो पटक पनि व्यक्तिको रोजाइ अनुसार सरुवा गरेर दोहोरो मापदण्ड लागू गरेको भन्दै अर्थका कर्मचारीहरु दुई कित्तामा विभाजित भएका छन् ।

अर्थतर्फका कर्मचारीहरु सबै दोष राजस्व प्रशासनतिरै थोपरिरहेका छन् भने राजस्व प्रशासनका कर्मचारीहरुले अर्थ सचिव समेतले सेटिङ्मा आफ्नालाई राम्रो ठाउँ पठाएको आरोप लगाएका छन् । मन्त्रालयमा भन्सार प्रमुखहरुको सरुवाले खैलाबैला मच्चिएपछि कोही बोल्न मानिरहेका छैनन् ।

कानून तथा ऐन विपरीत सेटिङमा भन्सार प्रमुखहरुको सरुवा भएकोबारे बुझ्न खोज्दा अर्थमन्त्री विष्णु पौडेलले यसबारे पछि कुरा गरौँला भने । आफु बुटवलमा रहेको बताउँदै उनले यो भन्सार प्रमुखको सरुवा र आफुमाथि लागेको आरोपबारे पछि कुरा गरौँला भनेर बीमापोष्टलाई जवाफ दिनबाट पन्छिए ।

राजस्व समूहको उपसचिवको सरुवामा सामान्यतया भन्सार वा राजस्वमा दुई वर्ष प्रमुख भएकाहरुलाई अर्थ मन्त्रालय, विभाग वा अन्य कार्यालयमा सरुवा गर्ने प्रचलन छ । तर, विभागीय मन्त्री र सचिवले कतिपय कार्यालय प्रमुखलाई एक वर्ष पनि नपुग्दै रोजेको कार्यालयमा सरुवा गरेको गुनासो कर्मचारीवृत्तमा छ ।

यो सरुवामा कसैलाई आन्तरिक राजस्व कार्यालयबाट भन्सार प्रमुख बनाइएको छ भने कसैलाई एउटा भन्सार कार्यालयबाट अर्को भन्सार कार्यालयमा खटाइएको छ । यसरी व्यक्ति हेरेर तथा आफ्नालाई छानेर सरुवा गर्दै दोहोरो मापदण्डको अभ्यास गरेको गुनासो मर्कामा परेका कर्मचारीहरुले गरेका छन् । त्यति मात्र नभई कर्मचारी संगठन तथा मन्त्री निकट उपसचिवले पटक-पटक प्रमुख भन्सार अधिकृतको अवसर पाएकोप्रति झनै असन्तुष्टि चुलिएको छ ।

को कहाँ पुगे ?
अर्थले भैरहवा भन्सार प्रमुख नारदमणि गौतमलाई १० महिना मै फिर्ता बोलाएर मेची नगर भन्सार कार्यालयका रामप्रसाद रेग्मीलाई खटाएको छ । गौतमलाई भने भन्सार जाँच पास परीक्षण कार्यालय त्रिपुरेश्वर तानेको छ । रेग्मीले १५ महिना १५ भन्सारमा विताएर दोस्रो महत्वपूर्ण भन्सार भैरहवाको हाकिम हुन पाएका छन् ।

विराटनगर भन्सार ताकिरहेका सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा कार्यरत राजेन्द्रप्रसाद चुँडाललाई मेची भन्सार प्रमुख बनाइएको छ । नेपालगन्ज भन्सार कार्यालय प्रमुख ध्रुबराज विश्वकर्मा र कृष्णनगर भन्सार प्रमुख मानबहादुर पौडेल १० महिना मै सरुवामा परेका छन् । विश्वकर्मालाई गौतमबुद्ध विमानस्थल भैरहवा लगिएको छ भने पौडेललाई जनकपुर भन्सार कार्यालयमा लगेर थन्काइएको छ ।

कृष्णनगर भन्सार प्रमुखमा भने फणिन्द्र खतिवडाले बाजी मारेका छन् । नेपालगन्जमा जनार्दन पौडेल र जलेश्वरमा राजेन्द्र बस्नेतलाई पठाइएको छ । रसुवा भन्सार प्रमुख रामप्रसाद पाठकले भने अझ राम्रो मानिने वीरगन्ज भन्सारको जिम्मा पाएका छन् ।

वीरगन्ज भन्सारको प्रमुख सहसचिव हुने भए पनि भन्सार जाँचकी तथा फिल्डको काममा निर्णायक भूमिका उपसचिव कै हुने गरेको बताइन्छ । वीरगन्जका प्रमुख भन्सार अधिकृत डीलाराम पन्थीको साउन ३१ मा महालेखा नियन्त्रक कार्यालयमा सरुवा भएपछि रिक्त रहेको स्थान सहसचिव दिपक लामिछानेलाई दिइएको छ ।

अर्थले आन्तरिक राजस्व कार्यालउ हेटौंडाका प्रमुख तुलसी भट्टराईलाई रसुवा भन्सार कार्यालयमा सरुवा गरेको छ । तातोपानी भन्सारमा भने कमल कुमार भट्टराईले भदौ पहिलो सातामै जिम्मेवारी सम्हालिसकेका छन् । यस्तै, अर्थले उपसचिव उषा पोखरेललाई चोभार सुख्खा बन्दरगाह र उपसचिव अनन्त प्रसाद तिम्सिनालाई कैलाली भन्सारमा खटाएको छ ।

आन्तरिक राजस्व कार्यालय हेटौंडामा कार्यरत उपसचिव युक्तिप्रसाद सुवेदीलाई आन्तरिक राजस्व कार्यालय जोरपाटी खटाइँदा दिलिप केसीलाई हेटौंडा पठाइएको छ । आन्तरिक राजस्व कार्यालय कृष्णनगरमा सुजित कुमार सिंह र आन्तरिक राजस्व जनकपुरमा आनन्द कुमार गुप्तालाई पठाइएको छ । यस्तै, उपसचिव लालबहादुर खत्री आन्तरिक राजस्व कार्यालय दमौलीमा सरुवा भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*