नेपाल बैंकले बढायो निक्षेपको ब्याजदर
३१ भाद्र २०८१, सोमबार ०७:१९
काठमाडौं । नेपाल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर बढाएको हो ।
बैंकले असोज महीनाका लागि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ५.९५ प्रतिशत, संस्थागततर्फ ४.९५ प्रतिशत अधिकतम र रेमिटेन्सतर्फ ६.९५ प्रतिशत ब्याजदर तोकेको छ । अघिल्लो महिनामा बैंकले व्यक्तिगततर्फ ५.२५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत अधिकतम र रेमिटेन्सतर्फ ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
साधारण बचत खातामा भने न्यूनतम ३.०१ प्रतिशतदेखि अधिकतम ५.०१ प्रतिशत ब्याजदर कायम गरेको छ । अघिल्लो महीनामा पनि सोही ब्याजदर तोकेको थियो ।
यता बैंकले कर्जातर्फको ब्याजदर भने घटाएको छ । भदौमा बैंकको आधारदर ७.८७ प्रतिशत रहेकोमा असोजका लागि ७.५४ प्रतिशतमा झारेको छ । बैंकले आधारदरमा ४ प्रतिशतसम्म प्रिमियम तोक्नेछ ।