बीमा क्षेत्रका सबै कम्पनीको शेयरमूल्यमा गिरावट, कुनको कतिले घट्यो ?

३० भाद्र २०८१, आईतवार १८:००

काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा भारी गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ को बिन्दुमा कायम भएको हो ।

शेयर बजार उच्च अंकले घटेसँगै बीमा क्षेत्रका २६ वटा कम्पनीहरुको शेयरमूल्यमा पनि भारी गिरावट आएको छ । पूँजी बजारमा उल्लेख्य रुपले दिर्घकालिन लगानीका स्रोत बनेका कम्पनीहरुको शेयरमूल्यमा गिरावट आउदा लगानीकर्ताहरुले ठूलो रकम गुमाउन पुगेका छन् ।

आइतबार लाइफ इन्स्योरेन्स इन्डेक्स २.७४ प्रतिशत अर्थात ३६१.२० अंकले घटेर १२८०८.७९ को विन्दुमा कायम भएको छ । यस उप–सूचकमा कारोबार भएका १२ वटै जीवन बीमा कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ ।

यस दिन सानिमा रिलायन्स लाइफको शेयरमूल्य ५.१५ प्रतिशतले घटेर ५५२ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, एलआइसी नेपालको शेयरमूल्य ४.१५ प्रतिशत अर्थात प्रतिकित्ता ९० रुपैयाँले घटेर २०९९ रुपैयाँमा खरिद–बिक्री भएको छ ।

आज सन नेपाल लाइफको शेयरमूल्य १.५१ प्रतिशतले घटेर ५८३ रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै, ननलाइफ इन्स्योरेन्स उपसूचक २.१६ प्रतिशत अर्थात २९१.८३ अंकले घटेर १३१८२.६० को बिन्दुमा कायम भएको छ । निर्जीवन बीमा कम्पनीहरुमध्ये सानिमा जिआइसी इन्स्योरेन्सको सबैभन्दा बढी प्रतिशतले शेयरमूल्य घटेको छ । आज कम्पनीको शेयरमूल्य ४.५५ प्रतिशतले घटेर ६७१ को विन्दुमा कायम भएको छ ।

त्यस्तै, नेपाल इन्स्योरेन्सको शेयरमूल्य १.३५ प्रतिशतले घटेर ९४७ रुपैयाँमा आज शेयर खरिद–बिक्री भएको छ ।

पूनर्बीमा कम्पनीहरुमध्ये हिमालयन रि इन्स्योरेन्सको शेयरमूल्य २.५१ प्रतिशतले घटेर ८१३ रुपैयाँ र नेपाल रि इन्स्योरेन्सको शेयरमूल्य २.२७ प्रतिशतले घटेर ८१८ रुपैयाँमा खरिद–बिक्री भएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*