घाटामा रहेका कम्पनीलाई आइपीओ जारी गर्न रोक्न गम्भीर छलफल छः सांसद गिरी
काठमाडौँ । नेकपा एमालेका सांसद पदम गिरीले पनि धितोपत्र बोर्ड अर्थ समितिको क्षेत्राधिकार भित्र पर्ने बताएका छन् । आइतवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
अर्थ समितिले नीतिगत कुराहरुमा छलफल गर्ने र लेखा समितिले अनियमितता विषयमा हेर्ने भएकाले त्यही अनुसार निर्देशन भएको देखिएको बताए । गिरीले नियमावली नै संशोधन गरेर पुनःमूल्याङ्कन गर्ने कम्पनीहरुको मूल्य बढाएर आईपीओ जारी गर्दा लगानीकर्ताहरु मर्कामा पर्ने गरेको देखिएको बताएका हुन् ।
उनले भने,‘नियमावली संशोधन गर्दा राजपत्रका प्रकाशित गर्नुपर्ने थियो । त्यहाँ पनि जारी भएको छैन । वास्तवमा सर्वसाधारण सूचनाको हकबाट समेत बन्चित भएको अवस्था छ । यसलाई गम्भिर रुपमा हेर्नुपर्छ ।’
उनले नेटवर्थ ९० प्रतिशत भन्दा माथि वा तल भन्ने विषयमा समितिमा गम्भिर रुपमा छलफल गर्नु आवश्यक रहेको बताए । घाटामा रहेका कम्पनीहरुको आईपीओ जारी गर्न दिँदा शेयर लगानीकर्तालाई ठूलो असर पर्ने गरेको उल्लेख गिरीको रहेको थियो ।