पुँजीबजार अर्थतन्त्रको औजार, बोर्ड र नेप्सेको रिफर्म आवश्यकः सांसद विनोद चौधरी
काठमाडौँ । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले धितोपत्र बोर्ड र नेप्सेको रिफर्म आवश्यक रहेको बताएका छन् । आइतवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै उनले अन्तर्राष्ट्रिय नियमायक निकायहरुले अपनाएका अभ्यास र कानून हेरेर सेबोन र नेप्सेलाई रिफर्म गर्ने नीति बनाउन आवश्यक रहेको बताएका हुन् ।
चौधरीले पुँजीबजार समग्र देशको अर्थतन्त्र विस्तारको औजार भएको दाबी बताएका थिए । उनले भने, ‘आन्तरिक तथा वाह्य कम्पनीहरुलाई कसरी पुँजीबजारमा ल्याउने भन्ने सोच्नुपर्छ । यो नेपालमा मात्रै शुरुवात गरेका हैनौं । विश्वका विभिन्न देशमा धितोपत्र बजारको प्रयोग सफल भएका देशहरु पनि छन् । नयाँ ऐनका कुराहरु आइरहेका छौं । त्यसमा धितोपत्र बोर्ड र नेप्सेलाई ओपन गर्नुपर्छ ।’
उनले पुँजीबजारमा सुधारको लागि लगानी संरक्षण र सुरक्षित गर्ने नीति आवश्यक रहेको उल्लेख गरे । पुँजीबजारमा जति सक्दो लगानी भित्र्याउन सक्नुपर्ने धारणा राखे । धितोपत्र बोर्डमा अहिलेसम्म धेरै चलखेलमा चल्ने गरेको भन्दै यस्ता खालका चलखेलले सधैँ लगानीकर्तामा आत्मबलको कमी ल्याउने बताए । उनले भने, ‘नेपालकै स्टक मार्केट १८ सयमा रहेको केही दिन बढेर ३० हजारमा पुग्यो अहिले फेरि २६ सयमा झरेको छ । नेटवर्थ समाएर बसेर यहाँ भन्दा माथि जान दिन भनेर समाएर बसेर हुँँदैन । बजार घटबढ हुनुभनेको मार्केट सेन्टिमेन्टको कुरा पनि हो ।’
नेपालमा अप्रेशनमा नआएका आयोजनाको पनि आईपीओ जारी हुने गरेको चौधरीको भनाइ रहेको छ । उनले आईपीओ जारी गर्ने विषयमा अन्तर्राष्ट्रिय अभ्यास र कानूनका आधारमा जारी गर्न दिए अन्तर्राष्ट्रिय रुपमा लिगेसी बोकेका संस्थाहरु पनि आईपीओमा आउन सक्ने बताए ।