प्रधानमन्त्री ओलीको सवारीकै बेला कुपण्डोलमा कसरी भयो विष्फोट ?
काठमाडौं । ललितपुरको कुपण्डोलमा मेलम्ची आयोजनाले वितरण गरेको खानेपानीको पाइप विष्फोट भएर सडक नै भासिएको घटनालाई सबैतिरबाट सामसुम पारिएको छ ।
प्रहरी प्रशासन, पानीको टेक्निकल विषय भन्दै पन्छिएको छ भने पानी वितरणसँग समम्बन्धित निकाय तथा जाँचका लागि खटिएको विशेष टिमले कारण पत्ता लगाउन सकेको छैन । ललितपुरका सीडीओ तुलसी बहादुर श्रेष्ठ र प्रहरी परिसर प्रमुख शेखर खनालले यो विषय टेक्निकल भएको जवाफ दिए ।
खानेपानीको विशेष जाँच टोलीले पाइप विष्फोटको कारण पत्ता लगाउनु भन्दा पहिल्यै टालटुल पारेर भ्वाङ् पुरिदिएको छ । जाँच तथा मर्मतमा खटिएको विशेष टोलीका इन्जिनियर प्रकाश थापाले पाइप विष्फोटको खास कारण किटान भइनसकेको बताए । तर, पाइप जडानको काम भने भइसकेको उनले जानकारी दिए ।
बीमापोष्टसँग कुरा गर्दै उनले भने, ‘तीन वर्ष अघि मेलम्ची आयोजनाले हाले ५०० एमएमको डीआई पाइप फुटेको हो । १-२ फिटको चोक्टे उडेको छ । सुन्दरीजलबाटै अनामनगर वितरण लाइनमा जोडिएको प्रेसरयुक्त पाइपमा पर्छ यो । अनामनगर डाउनमा भएका कारण धेरै प्रेसर क्रियट हुन्छ । तर, मेन लाइनमा प्रयोग हुने डीआई पाइप त्यसरी फुट्नु नपर्ने हो । ब्लक भएर हो कि भनेर हामीले थापाथलीमा पनि खोलेर हेर्दा त्यस्तो केही भेटिएन ।’
इन्जिनियर थापाका अनुसार हेभी गाडी वा ट्राफिकले हो भन्न मिल्ने अवस्था छैन । शनिबार त्यसै पनि हेभी ट्राफिक हुँदैन, उनले भने, ‘त्यसमाथि पनि प्रधानमन्त्रीको सवारीको बेला पाइप विष्फोट भएको देखिन्छ । अर्कोतिर, ९-१० फिट गहिराइमा भएको पाइप ट्राफिक चापले फुट्ने सम्भावना रहन्न ।’ संकलित तथ्यहरु र पाइप परीक्षण भइरहेकाले मुख्य कारण अहिल्यै भन्न नसकिने उनले बताए ।
पाइप विष्फोट भएको ललितपुर १० का वडाध्यक्ष रविमान व्यञ्जनकार भने यो घटनाबाट अचम्मित छन् । त्यही बोटा प्रधानमन्त्रीको सवारी आइपुग्ने बेलामै पाइप विष्फोट हुनुलाई सामान्य घटनाका रुपमा लिनु नहुने उनले बताए । उनले भने, ‘प्रधानमन्त्री ज्यू ज्यापु समाजको कार्यक्रममा सहभागि हुन त्यै बाटो आउने बेलामा पाइप विष्फोट भयो । हुनलाई यो संयोग हुनसक्छ । तर, त्यसरी पाइपको चोक्टै निस्किएर सडक छेडेर भ्वाङ पर्ने घटना सामान्य होइन ।’
स्काभेटरले खन्दा १० फिट तल रहेको पाइप अचानक विष्फोट हुनुले सिंगो आयोजनामाथि अनुसन्धान गरिनुपर्ने आवश्यकता देखिएको उनको भनाई छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ललितपुर जिल्ला कार्यालयले अहिले अधिक प्रयोगमा आएको डीआई पाइपमा एक दुई वटा कमजोर परेको हुनसक्ने बताएको छ । उसले भन्यो, ‘पाइप उत्पादनका दौरान कम्पनी मै क्युरिङ गर्दा २४ घण्टा अब्जर्भमा नपरेको कुनै पाइप हुनसक्छ । जुन पाइप विछ्याउँदा सुरु नदेखिने गरीको थोरै चर्किएको र पछि प्रेसरले गर्दा सोही ठाउँमा विष्फोट भएको हुनसक्छ ।’ तर, तथ्य विश्लेषणको रिपोर्ट आउनै बाँकी रहेकाले कारण त्यही नहुनपनि सक्छ ।
कमिसनले कमसल पाइप
मेलम्ची खानेपानी विकास आयोजनाले विभन्न ठाउँमा भिन्न भेण्डरहरुमार्फत काम गराएको थियो । उनीहरुले आईएसओ प्रमाणित एउटै स्ट्यान्डर्डको पाइप प्रयोग गरेनन् । कमिसनको चक्करमा उनीहरुले ३–४ थरी डीआई पाइप प्रयोग गरेको भेटिएको छ ।
कतिपयले केयूकेएलले प्रयोग गर्दै आएको टाटाको डीआई पाइप विछ्याइदिएका छन् भने अधिकांशले आफु अनुकुलको कम्पनीका पाइप ल्याएर जडान गरिदिएका छन् । त्यसरी जोडिएका पाइपको अनुगमन निरीक्षण समेत भएन ।
अहिले पाइप जडान गरेको ३ वर्ष नपुग्दै कुपन्डोलमा २ फिटको चोक्टै जानेगरी विष्फोट हुन पुगेको छ भने विभिन्न ठाउँमा लिकेजको समस्या सुरु भइसकेको छ । आयोजनाले पाइप जडानपछि दिनु पर्ने आवश्यक प्रेसर र परीक्षणको काम समेत ढंगले नगरेको सरोकारवालाको आरोप छ ।