बैदेशिक रोजगार म्यादी बीमामा जीवन बीमक संघ नेपालको भूमिका शंकास्पद, कसरी आयो बिचलन ?

३० भाद्र २०८१, आईतवार २०:३६

काठमाडौं । जीवन बीमक संघ नेपालले बैदेशिक रोजगार म्यादी बीमा पुलको सम्बन्धमा शंकास्पद भूमिका खेलेको तथ्य खुलेको छ । बैदेशिक रोजगार म्यादी बीमालाई पुलमा लैजाने नाममा जसरी सम्झौता गरिएको छ, सो सम्झौताको आधारमा जीवन बीमक संघ नेपालका उच्च पदाधिकारीहरु बिचलित भएको चर्चा नेपाली बीमा क्षेत्रमा चल्न थालेको छ ।

जीवन बीमक संघ नेपालका अध्यक्ष सिटिजन लाइफका पोषक पौडेल, उपाध्यक्ष नेपाल लाइफका प्रविनरमण पराजुली, सचिव सुर्यज्योति लाइफ इन्स्योरेन्सका सिईओ प्रकाश विक्रम खत्री सहितका पदाधिकारीहरु रहेका छन् ।
नियामक नेपाल बीमा प्राधिकरणले बीमाको आधारभूत सिद्धान्त विपरित बैदेशिक रोजगार म्यादी बीमा पुल सञ्चालन सम्बन्धी कार्यविधि बनाएको छ । तर, सो कार्यविधिमा जीवन बीमक संघ नेपालको बैठकले नै निर्णय गरेर बैदेशिक रोजगार म्यादी बीमा पुल बनाएको संघका जिम्मेवार सदस्यले स्वीकार गरेका छन् । यसबाट संघ नै बीमा प्राधिकरणको प्रभावमा फस्न पुगेको देखिएको छ । बैदेशिक रोजगार म्यादी बीमा पुल सम्बन्धी कार्यविधिमा आधा दर्जन बढि नीतिगत भ्रष्टाचार सम्बन्धी व्यवस्था समावेश छ । बीमा प्राधिकरण स्रोतका अनुसार सो कार्यमा बीमक संघका पदाधिकारीहरुले समेत बीमा प्राधिकरणमा अनुचित दवाव दिएका थिए ।

बीमा कम्पनीका सिईओहरुले आफ्नै कम्पनी डुबाउने गरी बैदेशिक रोजगार म्यादी बीमा पुल बनाउने सम्बन्धी कार्यविधिमा हस्ताक्षर गर्दा सञ्चालक समितिबाट अनुमति समेत नलिएको बुझिएको छ । बीमापोष्टको सम्पर्कमा आएक एक सञ्चालकले सिईओहरुले खेलेको भूमिकाबारे अनभिज्ञता जनाए । सिईओहरुले आफ्नै सञ्चालकहरुलाई समेत ढाँटेर म्यादी बीमा पुलमा सहमति जनाएको विषयले अहिले बीमा कम्पनीभित्र भुसको आगो झै सल्किन पुगेको छ । बीमा पुल बनाउँदा अधिकांश कम्पनीहरुलाई घाटा नै लाग्नेछ ।

सबैलाई अनिवार्य गरिएको बैदेशिक रोजगार म्यादी बीमा व्यवसाय बीमा प्राधिकरण आफै बीमा कारोबारमा उत्रिएको गतिलो प्रमाणको रुपमा लिन सकिन्छ । नियामक आफै बीमा व्यवसायमा उत्रिएको सो घटनामा जीवन बीमक संघ समेतको संलग्नता हुनुलाई विगतमा कोरोना बीमाको नेपाल बीमक संघको संलग्नता भएकै रुपमा हेरिएको छ ।

बैदेशिक रोजगार म्यादी बीमा पुलमा बीमा ऐन विपरितका करिब आधा दर्जन नीतिगत व्यवस्था गरिएको छ । बीमा ऐनको दफा ६५ मा कुनै विशेष जोखिम समुहको दायित्व वहन गर्न मात्रै यस्तो बीमा पुल बनाउने भन्ने व्यवस्था छ । तर, नियमित तरिकाको बीमामा बीमा पुल बनाउन पाँइदैन । यसअघि यस्तै पुलमार्फत बैदेशिक रोजगार म्यादी बीमा सञ्चालन गरिएको थियो । २०७९ साउन १ गते उक्त बीमा पुल खारेज गरिएको थियो । उतिबेला के कति कारणले खारेज गरियो र अहिले किन पुनः सुरु गरियो ? नियामक र जीवन बीमक संघ दुवैमाथि प्रश्न उठेको छ ।

उता, नेपाल जीवन बीमक संघका जिम्मेवारी पदाधिकारीहरुले विकृति रोक्न र सबैकुरा अध्ययन गरेरै नयाँ मापदण्ड लागू गरिएको बताएका छन् । नेपाल जीवन बीमक संघका उपाध्यक्ष प्रविणरमन पराजुलीले संघले सबै कम्पनीहरुलाई राम्रो हुने गरी बैदेशिक रोजगार पुल बनाएकोले कुनै समस्या नरहेको दावी गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*