दिपायल सिलगढीको अनियमितता: ढुङ्गा गिटी बिक्रीमा ५ लाख २४ हजार रुपैयाँको राजस्व हिनामिना

२८ भाद्र २०८१, शुक्रबार १८:१४

काठमाडौँ । डोटी जिल्लामा रहेको दिपायल सिलगढी नगरपालिकाले सेती नदी क्षेत्रको ढुङ्गा गिटी बिक्रीमा चलखेल गरेको पाइएको छ । नगरपालिकाले आर्थिक ऐन २०७९ को दफा ८ को उल्लंघन गरी राजस्व संकलनमा हिनामिना गरेको हो ।

यस दफा अनुसार स्थानीय तहले ढुङ्गा, गिटी, बालुवा, र दहत्तर संकलनमा प्रति घनमिटर १०५.९४५ रुपैयाँ (भ्याट बाहेक) का दरले शुल्क असुल गर्नुपर्ने व्यवस्था गरिएको छ । तर, नगरपालिकाले जम भगवती निर्माण सेवा लिमिटेडलाई प्रति घनमिटर ८३.४६८ रुपैयाँका दरले बिक्री मूल्य तोकेको छ, जसले गर्दा प्रति घनमिटर २२.४ कम राजस्व सङ्कलन भएको हो ।

आर्थिक ऐन २०७९ अनुसार, स्थानीय तहले न्यूनतम मूल्य निर्धारणको पालन गर्नुपर्ने हुन्छ । यस ऐनले ढुङ्गा, गिटी, बालुवा, र दहत्तरको संकलन र बिक्रीको लागि विशिष्ट मूल्य निर्धारण गरेको छ । तर, दिपायल सिलगढी नगरपालिकाले सेती नदी क्षेत्रको २३,४१० घनमिटर ढुङ्गा गिटीको बिक्रीको अनुमति दिँदा न्यूनतम मूल्यको तुलनामा २२.४ कम दरमा मूल्य निर्धारण गरेको छ ।

यस अनमितता परिणामस्वरूप, स्थानीय संचित कोषमा ५ लाख २४ हजार ३८४ रुपैयाँको राजस्व असुल हुन सकेको छैन । यो रकम ऐनमा तोकिएको न्यूनतम बिक्री मूल्यअनुसार असुल गर्नुपर्ने महालेखाको भनाइ रहेको छ । सुदुरपश्चिम प्रदेशका अधिकारीहरूले नगरपालिकाको यो अनियमितता प्रति गम्भीर ध्यान दिएको बताएका छन् । यो उल्लंघनको अनुसन्धान र यसको परिणामस्वरूप क्षतिपूर्ति असुल गर्न आवश्यक रहेको छ ।

सो नगरपालिकामा प्रमुखको जिम्मेवारीमा बाजी सि खड्का र उपप्रमुखमा कलावती महर साउद छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*