नौ कम्पनीले दशैँ अगाडी नै साधारण सभा गर्ने, कसले कति दिदैछन् लाभांश ? (सूचीसहित)

२८ भाद्र २०८१, शुक्रबार १८:११

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका करिव एक दर्जन कम्पनीहरुले दशैँ अगाडी नै वार्षिक साधारण सभा गर्ने भएका छन् । कम्पनीहरुले विभिन्न प्रस्तावहरुसहित गत आर्थिक वर्ष २०८०।०८१ को वार्षिक साधारण सभा गर्ने मिति तय गरेका हुन् ।

सूचीकृत कम्पनीहरुमध्ये ओरियण्टल होटल लिमिटेड, नेपाल ल्यूब आयल लिमिटेड र ७ वटा हाइड्रोपावरहरुले नेपालीहरुको महान चाँडपर्वको रुपमा रहेको विजयाँ दशमी भन्दा अगाडी नै वार्षिक साधारण सभा सम्पन्न गर्ने निर्णय गरेका छन् ।

साधारण सभा मिति तय गरेका कम्पनीहरुमध्ये प्रस्ताव गरेको लाभांश सम्बन्धित कम्पनीका लगानीकर्ताहरुले दशैभन्दा अगाडी नै प्राप्त गर्ने आधार देखिएको छ । विभिन्न कम्पनीहरुका शेयर खरिद–बिक्री गरेर आफ्नोे दैनिकी चलाउँने लगानीकर्ताहरुले दशैँ अगाडी नै प्रतिफल पाएपछि खुशी बन्ने भएका छन् ।

यस अवधिमा अवधिमा अधिकांश हाइड्रोपावर कम्पनीहरुले लगानीकर्ताहरुको हात रित्तो बनाएका छन् । साधारण सभा मिति तय गरेका कम्पनीहरुको बुकक्लोजको मिति पनि बाँकी नै रहेका कारण अझै पनि सो कम्पनीहरुको लगानीकर्ता बन्ने अवसर रहेको छ ।

भदौ २८ अर्थात शुक्रबारसम्म करिव नेप्सेमा सूचीकृत भएका तीन दर्जन कम्पनीहरुले लाभांश घोषणा गरेको भएतापनि वार्षिक साधारण सभा र बुकक्लोजको मिति तय गर्न बाँकी रहेको छ ।

बैंकिङ क्षेत्रमा सबैभन्दा बढी लाभांश दिन सक्ने क्षमता भएको एभरेष्ट बैंक, गुराँस लघुवित्त, विभिन्न सेलेक्ट फण्ड तथा हाइड्रोपावरहरुले लाभांश घोषणा गरेका छन् । उनीहरुले आफ्ना लगानीकर्ताहरुलाई क्षमता अनुसारको प्रतिफल वितरण गर्ने योजनासहित अगाडी बढेका छन् ।

यी कम्पनीले गर्दैछन् दशैँ अगाडी एजीएम : 

ओरियण्टल होटल्स लिमिटेड

ओरियण्टल होटल्स् लिमिटेडले असोज २० गते आइतबार २७औं वार्षिक साधारणसभा बोलाएको छ । होटलको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा विहान ११ बजे सभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३१६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्नेछ ।

वार्षिक सहित लेखापरीक्षकको प्रतिवेदन लगायत अन्य वित्तीय विवरणहरू पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ ।

सभा प्रयोजनार्थ होटलले असोज ७ देखि २० गतेसम्म बुक क्लोज गर्नेछ । यसका आधारमा असोज ६ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

माण्डु हाइड्रोपावर

माण्डु हाइड्रोपावर लिमिटेडले १३औं वार्षिक साधारणसभा असोज १४ गते गर्ने भएको छ । कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नयाँबजारस्थित नेपा बैंक्वेटमा बिहान १० बजे सभा बस्ने निर्णय गरेको हो ।

कम्पनीले हालैमात्र १२ प्रतिशत लाभांश कर कट्टी गरी वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले सोही प्रस्ताव पारित गर्नेछ ।

यसका साथै गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, आय व्यय विवरण र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले भदौ ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसका आधारमा भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्रै लाभाशं पाउन र सभामा उपस्थित हुन सक्नेछन् ।

कम्पनीहरुले प्रकाशित गरेको सूचनाका आधारमा

 

भगवती हाइड्रोपावर

भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले आफ्नो २४औं वार्षिक साधारण सभा असोज १६ गतेका लागि आह्वान गरेको छ । सभा अर्पण व्याङक्वेट, थापागाउँ, बानेश्वर, काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले गत आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट कुल १४ दशमलव ७३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सभाले लाभांश प्रस्ताव सहित जारी पूँजी बृद्धि गरी ५९ करोड ४९ लाख ४७ हजार ३०० रुपैयाँ कायम गर्ने प्रस्ताव पारित गर्नेछ । सञ्चालक समितिमा संस्थापक तर्फबाट दुई जना सञ्चालक नियुक्ती गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज २ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

नेपाल ल्यूव आयल

नेपाल ल्यूब आयल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश र एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न असोज १८ गते साधारण सभा डाकेको छ । सभा ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा बिहान साढे ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने र प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन (एफपीओ) गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले एफपीओ निष्काशन पश्चात प्राप्त पूँजीको उपयोग, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ४ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने भएको छ। सोका आधारमा असोज २ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

बाराही हाइड्रोपावर

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले असोज १८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा गौरव इभेन्ट्स गौतम प्लाजा स्युचाटार सालिक चोक, कलंकी काठमाडौंमा बिहान ८ बजे बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । जस कारण कम्पनीका शेयरधनीहरुको हात यो वर्ष रित्तो हुने भएको छ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनार्थ यस कम्पनीले असोज १० गते बुक क्लोज गर्ने भएको छ ।

बरुण हाइड्रोपावर

बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले २१औं वार्षिक साधारणसभा असोज १३ गते गर्ने भएको छ । भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिले काठमाडौंको धुम्बाराही चोकस्थित लर्ड पार्टी भेन्यूमा विहान ११ बजेदेखि शुरू हुने गरी सभा डाकेको हो ।

सभाले हकप्रद शेयर अनुमोदन, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ती गरी निजको पारिश्रमिक निर्धारण गर्ने र गत आवमा सञ्चालक समितिले गरेका कार्य अनुमोदन गर्नेछ ।

त्यस्तै मर्जरका लागि आवश्यक कार्य गर्न र नियामक निकायबाट कुनै आदेश भएमा सोही अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने मुख्य एजेण्डा पनि पारित गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसका आधारमा भदौ ३१ गतेसम्म कायम शेयरधनी मात्रै सभामा उपस्थित हुन सक्नेछन् ।

मोलुङ हाइड्रोपावर

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आगामी असोज १८ गते २ आर्थिक वर्षको वार्षिक साधारण सभा बोलाएको छ । सभा बाघभैरव ब्यांकेट, नगाउँ दोबाटो, कीर्तिपुर, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

सभामा आर्थिक वर्ष २०७९–८० र २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभाले नयाँ सञ्चालक समिति गठन गर्नेछ ।

सभा प्रयोजनका लागि यसले आगामी असोज २ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज १ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । यद्दपि, असोज १ गते सार्वजनिक विदा पर्ने हुँदा भदौ ३१ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

अप्पर स्याङ्गे

अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले असोज १८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, कुण्डलिनी दरबार ब्यांकेट, चप्पल कारखाना चोक, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । यसले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभामा, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले असोज ४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ असोज २ गतेसम्म कायम सेयरणधनीले मात्र सभामा भाग लिन पाउनेछन् । असोज ३ गते संविधान दिवसको अवसरमा सार्वजनिक विदा पर्ने हुँदा त्यस दिन सेयर बजार बन्द हुनेछ ।

ङादी ग्रुप पावर

ङादी ग्रुप पावरले असोज १३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, लर्ड पार्टी भेन्यु, धुम्बाराही काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । सभामा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश हुँदैछ । कम्पनीले यसअघि नै १०० प्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाइसकेको छ ।

सभामा अन्य कम्पनीसँग गाभ्ने, गाभिने अथवा प्राप्तिसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । यस्तै, आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्नेे एजेन्डा पनि छ ।

आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा गर्न कम्पनीले भदौ ३१ गते बुक क्लोज गर्ने भएको छ । भदौ ३० गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*