सुदूरपश्चिममा अविरल वर्षाले तराई डुबानमा, पहाडी जिल्लामा पहिरोको जोखिम
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा हिजोदेखि परेको अविरल वर्षाका कारण अधिकांश क्षेत्रमा जनजीवन कष्टकर बनेको छ। तराईका धेरैजसो क्षेत्र डुबान र पहाडी जिल्लाहरूमा पहिरोका कारण अधिकांश राजमार्गहरू अवरुद्ध भएका हुन् ।
जिल्ला प्रशासन कार्यालयहरूले स्थानीय बासिन्दालाई सुरक्षित रहन आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार, पश्चिम सेती नदीको जलसतह सतर्कता तह पार गरेको छ। यता, कैलालीका जानकी गाउँपालिका, जोशिपुर गाउँपालिका, धनगढी उपमहानगरपालिका, लम्कीचुहा नगरपालिकालगायतका क्षेत्र डुबानमा परेका छन्। जिल्ला प्रशासन कार्यालयले केही स्थानका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।
डोटीको केआईसिंह गाउँपालिका–४, कार्कीगाउँमा खोलाले बगाउँदा महामती चन्दकी ८ वर्षीय छोरी निर्मला चन्द बेपत्ता भएकी छन्। स्थानीय अधिकारीहरू बालिकाको खोजी कार्यमा जुटिरहेका छन्।
पहाडी जिल्लाहरूमा पनि पहिरोका कारण सडकखण्ड अवरुद्ध भएका छन्। सम्बन्धित निकायहरूले पहिरोको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
ट्राफिक प्रहरीले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सुझाव दिएको छ। मौसम विभागका अनुसार, भोलिसम्म पनि वर्षा जारी रहने संभावना रहेको छ, जसले गर्दा प्रभावित क्षेत्रका बासिन्दालाई थप सतर्क रहन भनिएको छ।