मोदीका विशेषदूत भेटेपछि मेटमणिले भने, ‘लिपुलेक-कालापानी भारतकै हो, पार्टीले सोध्यो स्पष्टीकरण
काठमाडौं । नेपालको प्रशासनिक (चुच्चे)नक्सामा समेटिएको लिपुलेक र कालापानी भारत कै होनी भनी अन्तर्वार्ता दिएपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरी विवादमा परेका छन् ।
एक टेलिभिजन अन्तर्वार्तामा उनले बोलेको विषयलाई लिएर सामाजिक सञ्जालसहित चौतर्फी आलोचना भएको छ भने पार्टीले तीन दिनभित्र स्पष्टीकरण दिन भनी लिखित निर्देशन दिएको छ ।
पार्टी उपमहासचिव समेत रहेका चौधरीलाई महासचिव घनश्याम भूषालले तीनदिने स्पष्टीकरण सोधेका हुन् । एक टेलिभिजन अन्तर्वार्तामा चौधरीले लिपुलेक र कालापानी क्षेत्र भारतकै रहेको भन्ने आशयको अभिव्यक्ति दिएका थिए । सोही विषयलाई लिएर महासचिव भुसालले किन राष्ट्रिय अखण्डताविरुद्ध बोलेको हो ? भन्दै तीन दिनभित्र जवाफ दिन भन्दै स्पष्टीकरण सोधेका छन् ।
केही दिनयता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत पूर्वराजदूत रञ्जित रे’ काठमाडौं आएदेखि कहिले महाकालीको पानी त कहिले लिपुलेक र कालापानीका विवादहरु बाहिर आइरहेका छन् । यस दौरान पूर्वराजदूत रे’ डिप्लोमेटिक कार्यक्रममा मात्रै सहभागि भएका छैनन् ।
उनले विभिन्न दलका नेता तथा सांसदहरुसँग गोप्य भेट गर्ने र नेपाली सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने गतिविधि गरिरहेका छन् । पूर्वराजदूत रे’सँग विवादित अभिव्यक्ति दिने सांसद चौधरीसहित थुप्रै नेताले भेटेका बताइएको छ ।