संविधान दिवसबाट निःशुल्क धरहरा चढ्न पाइने
काठमाडौं । सरकारले संविधान दिवसका दिन असोज ३ गते सर्वसाधारणका लागि धरहराको निःशुल्क अवलोकन खुल्ला गर्ने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले धरहरा सञ्चालनको कार्यविधि नबन्दासम्म संविधान दिवसबाट सर्वसाधारणलाई धरहराको निःशुल्क अवलोकन गर्न दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार सम्बन्धित मन्त्रालयले सञ्चालन सम्बन्धी कार्यविधि नबनाउँदासम्म असोज ३ बाट सर्वसाधारणले निःशुल्क अवलोकन गर्न पाउनेगरी सञ्चालनमा ल्याउने निर्णय क्याविनेटले गरेको हो ।
धरहरा व्यवस्थापन तथा सञ्चालनको कार्यविधि बनाउने काम सहरी विकास मन्त्रालयले गर्ने बताइएको छ । अहिले सहरी विकास मन्त्रालयको कमाण्ड कांग्रेस नेता प्रकाशमान सिंहले सम्हालिरहेका छन् ।
२०७२ सालको गोरखा भूकम्पले भीमसेन धरहरा ढालेपछि अहिले आधुनिक निर्माण सामग्री प्रयोग गरेर धरहरा निर्माण गरिएको छ भने पार्कसहितका संरचनाको अन्तिम कामहरु बाँकी छ ।