पूर्वीचौकी गाउँपालिकामा ठेक्का चलखेलः दश शैय्याको अस्पताल निर्माणमा साढे १० लाख बढी भुक्तानी

२७ भाद्र २०८१, बिहीबार १४:२०

काठमाडौँ । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकाले १० शैय्याको प्राथमिक अस्पताल भवन निर्माणको ठेक्का रोयल कन्सट्रक्सनसँग गरेको सम्झौतामा बढी भुक्तानी गरेको खुलासा भएको छ । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२३ अनुसार प्राविधिक नापजाँच गरी वास्तविक कार्य सम्पन्न भएको आधारमा भुक्तानी गर्नुपर्ने व्यवस्था छ । तर, अनुगमनमा ठेक्काका आधारभूत नियमहरूको उल्लंघन भएको देखिएको हो ।

गाउँपालिकाले २०७८ सालको असार ९ गते रोयल कन्सट्रक्सनसँग ७ करोड ९० लाख २७ हजार ३३१ रुपैयाँको सम्झौतामा हस्ताक्षर गरेको थियो । यस सम्झौता अनुसार ३० महिनाभित्र काम सम्पन्न गर्नुपर्ने थियो । यद्यपि, गत वर्षको दोस्रो रनिङ्ग बिलबापत २ करोड १५ लाख ३८ हजार २०० रुपैयाँ भुक्तानी गरिएको छ ।

सम्बन्धित नापिकिताब अनुसार कामको वास्तविक नापी गर्दा Earthwork in excavation in soft soil को ५१७७१.४० घनमिटर कार्य गरिएको देखिएको छ । तर, भुक्तानीमा ६६८०३.६८ घनमिटर प्रति घनमिटर ६० रुपैयाँका दरले मूल्य समायोजन फ्याक्टर १.१८६९ ले गणना गरेर भुक्तानी गरिएको छ । यसमा १५०३२.२८ घनमिटर बढी भुक्तानी गरिएको छ, जसको मूल्य १० लाख ७० हजार ५०८ रुपैयाँ पर्छ । यस रकममा मूल्य अभिवृद्धि कर समेत समावेश गर्नुपर्नेछ । जसमा करसहित १२ लाख ९ हजार ६७५ रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ ।

यस अनियमिततासँगै ठेक्का सम्झौतामा भएका प्रक्रियागत चूक र गाउँपालिकाको आर्थिक व्यवस्थापनप्रति प्रश्न उठेको छ । सम्बन्धित निकायहरूले यस मुद्दामा छानबिन गरी बढी भुक्तानीको रकम असुल गर्न र दोषीलाई कारबाही गर्ने कार्यलाई प्राथमिकता दिनुपर्ने भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*