शिखर नगरपालिकामा सार्वजनिक खरिद ऐनको उल्लंघन, ब्रोडब्यान्ड जडानमा ३६ लाखको आर्थिक अनियमितता

२७ भाद्र २०८१, बिहीबार ११:१८

काठमाडौँ । डोटी जिल्लाको शिखर नगरपालिकामा ब्रोडब्यान्ड सिपिई आपूर्ति तथा जडानमा सार्वजनिक खरिद ऐनको उल्लंघन भएको पाइएको छ। साङ्ग्रीला इन्फर्मेटिक्स प्रालि मार्फत नगरपालिकाभित्रका ४९ वटा विद्यालयमा ब्रोडब्यान्ड सिपिई जडान गरिएको भन्दै विद्यालयलाई ३६ लाख २१ हजार १ सय रुपैयाँ भुक्तानी गरिएको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को प्रावधानअनुसार कुनै पनि सामान वा सेवाको खरिद प्रतिस्पर्धात्मक प्रक्रियाबाट गर्नु पर्ने भए पनि शिखर नगरपालिकाले प्रतिस्पर्धात्मक विधि नअपनाई साङ्ग्रीला इन्फर्मेटिक्स प्रालिको बिलको आधारमा भुक्तानी गरेको पाइएको हो ।

खरिद नियमावली अनुसार, १० लाख रुपैयाँभन्दा माथिका खरिद प्रक्रियामा सिलबन्दी दरभाउपत्र वा बोलपत्रबाट मात्र खरिद गर्नु पर्ने व्यवस्था भए पनि पालिकाले उक्त प्रक्रिया नअपनाई ३६ लाख २१ हजार १ सय रुपैयाँको भुक्तानी दिएको छ।

यस प्रकरणमा नगरपालिकाले न कुनै प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रिया अपनाएको देखिन्छ, न त जडान भएका ब्रोडब्यान्ड सिपिईहरूको अनुगमन गरेको देखिन्छ। साथै, साङ्ग्रीला इन्फर्मेटिक्स प्रालि चयनको प्रक्रिया र जडान भएका उपकरणहरूको अवस्थाको अनुगमन सम्बन्धी प्रतिवेदन पेश गर्नुपर्नेमा नगरपालिकाले आवश्यक प्रमाण समेत प्रस्तुत नगरेको पाइएको छ।

शिखर नगरपालिकाको यो कार्यले सरकारी स्रोत साधनको दुरुपयोग र सार्वजनिक खरिद ऐनको उल्लंघन भएको भन्दै स्थानीय तहका सर्वसाधारण र सरोकारवालाहरूले कडा विरोध जनाएका छन्। यो प्रकरणले स्थानीय सरकारमा पारदर्शिता र जवाफदेहिताको अभावको गम्भीर प्रश्न खडा गरेको छ।

2 thoughts on “शिखर नगरपालिकामा सार्वजनिक खरिद ऐनको उल्लंघन, ब्रोडब्यान्ड जडानमा ३६ लाखको आर्थिक अनियमितता

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*