शौर्य सिमेन्टमा अवैध मार्लबोरो चुरोट प्रकरणः राजस्व कार्यालयको प्रत्यक्ष बयान लिने तयारी
२७ भाद्र २०८१, बिहीबार १०:४१
काठमाडौँ। सिरहाको मिर्चैयास्थित शौर्य सिमेन्ट उद्योगमा विदेशी ब्राण्डको मार्लबोरो चुरोट भेटिएको प्रकरणमा राजस्व अनुसन्धान कार्यालय, इटहरीले उद्योगसँग प्रत्यक्ष बयान लिने तयारी गरेको छ।
गत साउनमा उद्योगमा म्याद गुज्रिएका र रि–लेबलिङ गरिएका दुई प्रकारका मार्लबोरो चुरोट जलाइएको र अझै केही चुरोट उद्योगभित्रै रहेको विषयमा समाचार सार्वजनिक भएपछि राजस्वले उद्योगसँग लिखित जवाफ मागेको थियो।
उद्योगले गत १९ गते राजस्वको पत्रको जवाफ पठाए पनि त्यसमा सन्तुष्टि नजनाएपछि प्रत्यक्ष बयान लिने तयारी गरिएको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख खेमराज ओझाले जानकारी दिए।
राजस्व छली र उपभोक्ता ठगीको आरोपमा सूक्ष्म अनुसन्धान भइरहेको र चाँडै उद्योगका प्रतिनिधिलाई बयानका लागि बोलाइने जनाइएको छ ।