सेती प्राविधिक शिक्षालय भ्रष्टाचारको अखडा बन्दै, क्यान्टिनको टेण्डरमा लाखौको चलखेल

राजन कठायत
२६ भाद्र २०८१, बुधबार १६:३२

काठमाडौं । डोटी जिल्लामा रहेको सेती प्राविधिक शिक्षालय भ्रष्टाचारको अखडा बन्दै गएको छ । प्राविधिक क्षेत्रमा लामो इतिहास बोकेको शिक्षालयका कर्मचारी र व्यापारीको मिलेमितोमा विद्यार्थीहरुको स्वास्थ्यसँग सम्बन्धित चमेना गृहको टेण्डरमा समेत कमिसनको चलखेल भएको पाइएको हो ।

राजनीतिक शक्तिको आडमा डोटीका जनप्रतिनिधिहरुले शिक्षा क्षेत्रमा समेत आफ्नो गलत धन्दा सञ्चालन गर्ने गरेको पाइएको छ । आम जनतालाई विभिन्न सुविधा र शिक्षामा कायापलट गर्ने वाधा गरेर चुनाव जितेका जनप्रतिनिधिहरुले शिक्षालयको व्यवस्थापन र विद्यार्थीको विषयमा कुनै पनि पहल नभएको समेत पाइएको छ ।

डोटी जिल्लामा रहेको सेती प्राविधिक शिक्षालय दिपायलको चमेना गृहको टेण्डर हात पार्न यतिबेला त्यस जिल्लाका विभिन्न क्षेत्रका निर्वाचित जनप्रतिनिधिहरु र राजनीतिक आडमा सञ्चालित व्यवसायीहरुले विभिन्न प्रपञ्चहरु रचिरहेका छन् ।

शिक्षालयको चमेना गृहको खाना, खाजाबारे विद्यार्थीहरुले बारम्बार गुनासो गरेका कारण शिक्षालयले न्यूनतम् र अधिकतम् मूल्यसहितको नयाँ टेण्डर आह्वान गरेको थियो । प्रतिस्प्रर्धी व्यवसायीहरुले विद्यार्थी र कर्मचारीहरुको स्वास्थ्यलाई भन्दा पनि आर्थिक लाभका कुरालाई बढी प्राथमिकता दिने गरेका छन् ।

उक्त टेण्डर विभिन्न समयमा त्यहाँका गलत नियत र प्रतिस्प्रर्धा गर्न क्षमता नभएका तर विभिन्न प्रपञ्च रचेर टेण्डर हात पार्न खप्पिस व्यवसायीसामु शिक्षालय प्रमुख शुशिला शर्मा नझुक्दा अहिले विवाद सिर्जना भएको पाइएको छ ।

सन्दर्भ हो, डोटी जिल्लामा रहेको शिखर नगरपालिकाकी उप–प्रमुख सुनिता रावल जोरा र उनका व्यापारी श्रीमान रमेश जोरा तथा शिक्षालय प्रमुख सुशिला शर्माको घटिया क्रियाकलापले त्यस्तो विवाद आएको हो ।

विभिन्न विवाद भएपश्चात शिक्षालयले सबै प्रक्रियालाई रद्द गरेर नयाँ टेण्डर आह्वान गरेको थियो । सोही टेण्डरलाई हात पार्नको लागि शिखर नगरपालिकाकी उप–प्रमुख र उनका श्रीमानले शिक्षालय प्रमुखलाई विभिन्न तरिकाले ब्ल्याकमेल र टर्चर दिने गरेको आरोप लागेको छ ।

शिक्षालय प्रमुख सुशिला शर्माले शिखर नगरपालिकाकी उप–प्रमुख सुनिता रावल जोरालाई एक स्थानीय तहको जनप्रतिनिधि भएका कारण सामान्य भेटघाटको लागि गएको बताएकी छिन् । उनले भनिन्, ‘हो म उहाँलाई भेट्नको लागि गएको हो । एक स्थानीय तहको जनप्रतिनिधिको हैसियतले सामान्य तरिकाले भेट गरेको र चिया खाएको कुरा सत्य हो । तर अहिले भेटलाई भ्रम फैलाउने गरेको कुरा मैले पनि सुन्दै आएको छु । जुन सरासर गलत हो ।’

उनले भनिन्, ‘अहिले यो विषयमा आवश्यक छानविन पनि चलिरहेको छ । मैले उनीहरुसँग कुनै पनि प्रकारको माग गर्ने र टेण्डर नै दिने भनेर कतै पनि बोलेको छैन् । छानविनमा दोषी ठहरिएपनि भन्नुहोला । म कसैसँग पनि झुक्दिन् ।’

सोही सन्दर्भमा शिखर नगरपालिकाकी मेयर सुनिता रावल जोराले आफू र आफ्नोे श्रीमानको विरुद्ध लगाइएको आरोपको खण्डन् गरेकी छिन् । उनले भनिन्, ‘म आफु पनि सरकारको जिम्मेवार पदमा बसेर काम गरिरहेको मान्छे हुँ । मेरो श्रीमानले पनि सामान्य व्यवसाय सञ्चालन गर्दैै आएका छन् । मेरो पसलमा कहिल्यै पनि चिया खान नआउँने शिक्षालयकी प्रमुख शर्मा चाँही टेण्डरकै बेला किन आएकी हुन् ?’

उप–प्रमुख जोराले शिक्षालयका शिक्षकहरुले पनि आम व्यवसायीहरुलाई कमिशन दिएको खण्डमा टेण्डर मिलाईदिने भन्दै प्रलोभनमा समेत पार्दै आएका बताइन् ।

‘सेती प्राविधक शिक्षालयमा थुप्रै समस्याहरु रहेका छन् । जुन अहिले म र मेरो परिवारमाथी लगाएको आरोपहरुलाई पुष्टि गर्न क्याम्पस प्रमुखलाई चुनौति दिन्छु । यदि दिपायलका मानिसहरुलाई अरु केही जान्न चाहेमा मेरो पसलमा आएर सीसीटिभि फुटेज समेत हेर्न आग्रह गर्दछु ।’

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*