वीर अस्पतालको सेवामा चरम समस्याः चिकित्सकको ढिलासुस्ती र कर्मचारीको बदमासीले बिरामी मारमा

२६ भाद्र २०८१, बुधबार १३:०७

काठमाडौँ । वीर अस्पताल जो नेपालको सबैभन्दा पुरानो र प्रमुख सरकारी अस्पताल हो, त्यहाँ आउने गरिब, दुःखी र अशक्त नागरिकहरूले हाल अत्यन्तै दुःख पाइरहेका छन् । बिहान ८ बजेदेखि नै सेवा सुरु हुनुपर्नेमा चिकित्सकहरू प्रायः १० बजेसम्म पनि उपस्थित नहुने गरेका छन्, जसले गर्दा दैनिक सयौ बिरामीलाई लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने बाध्यता सिर्जना भएको हो ।

विरामीहरूले अस्पतालमा आउने बित्तिकै सेवा पाउने आशामा हुन्छन्, तर स्वास्थ्यकर्मीहरूको अनुपस्थितिले बिरामीहरूमा निराशा मात्र थपेको छैन, उनीहरूको स्वास्थ्य अवस्थालाई पनि जटिल बनाइरहेको छ । अस्पतालको चेकजाँच कक्षबाहिर लामबद्ध बिरामीहरूले कुर्सीमा बस्न समेत पाउँदैनन् । “हामी बिहान ५ बजे नै अस्पताल पुग्छौं, तर ८ बजेसम्म टिकट काट्न पाइँदैन’ एक सेवाग्राहीले भने ‘हामी लाइनमा बसेको बसेइ छौं, सफाइ कर्मचारी मात्र अस्पतालमा देखिन्छन्। तर, १० बजेसम्म पनि सेवाको सुरुवात हुँदैन ।’

डाक्टरहरू प्रायः १० बजेपछि मात्रै अस्पतालमा उपस्थित हुने गरेको सेवाग्राहीहरूको गुनासो छ । ‘डाक्टरहरू केहि अलि छिटो आएपनि अधिकांश ब्यक्ति १० बजे आउँछन्, आए पनि कामलाई प्राथमिकता दिँदैनन्’ अर्का सेवाग्राहीले भने, ‘यो ढिलासुस्तीले गर्दा बिहानैदेखि आएका सेवाग्राहीहरूलाई लाइनमै धेरै समय बिताउनुपर्ने बाध्यता सिर्जना भएको छ ।’

अस्पतालमा आउने सेवाग्राहीहरूलाई कसैले कुनै गुनासो प्रस्तुत गर्दा उल्टै अस्पतालका कर्मचारीहरूले थर्काउने गरेका छन्। “हामीलाई केही भन्यो कि उल्टै थर्काउँछन्। यहाँ हाम्रो जस्तो मान्छेहरूको कुरा सुन्ने कोही छैन’ एक ब्यक्तिले भने यो समस्या विशेषगरी चिनजान भएका व्यक्तिहरूलाई प्राथमिकता दिएर सहजताका साथ उपचार गर्नेसम्बन्धी प्रवृत्तिका कारण उत्पन्न भएको छ ।

वीर अस्पतालका एक कर्मचारीले नाम नखुलाउने शर्तमा भने, “डाक्टरहरू ढिला आउने समस्या नयाँ होइन, वर्षौं देखि चल्दै आएको कुरा हो । केही चिकित्सकहरू निजी क्लिनिक वा अन्य स्वास्थ्य संस्थामा व्यस्त हुने हुँदा सरकारी अस्पतालमा समयमै आउँदैनन् ।’ यो समस्याले गर्दा सेवाग्राहीहरूलाई मात्र नभई अस्पतालका अन्य कर्मचारीहरूलाई पनि असुविधा भइरहेको छ ।

अस्पतालको व्यवस्थापनमा मात्रै सीमित छैन । स्वास्थ्य मन्त्रालयमा वर्षेनि मन्त्रीहरूको फेरबदल भइरहँदा पनि सरकारी अस्पताल, विशेष गरी बिर अस्पतालको सेवामा कुनै ठोस सुधार देखिएको छैन । हरेक नयाँ मन्त्रीले सुधारका ठूला घोषणा गरे पनि अस्पतालको वास्तविकता भने उस्तै छ—सेवा सुस्त, व्यवस्थापन कमजोर, र सेवाग्राहीहरू निराश । मन्त्री फेरिए पनि सेवाप्रवाहमा स्थिरता र प्रभावकारीताको अभावले गर्दा गरिब तथा गरिखाने वर्गका नागरिकहरूले सास्ती भोग्न बाध्य भएका छन्। यसबाट स्पष्ट हुन्छ कि सरकारको नीति तथा कार्यक्रमले अस्पतालको सेवा सुधार्न आवश्यक कार्यान्वयनमा ध्यान दिन सकेको छैन ।

वीर अस्पतालमा दैनिक १५०० भन्दा बढी बिरामी सेवा लिन पुग्छन्। ती मध्ये धेरैजसो गरिब, अशक्त र ग्रामीण क्षेत्रबाट आएका हुन्छन्। यस्तो अवस्थामा अस्पतालले समयमै सेवा उपलब्ध गराउन नसक्दा उनीहरूलाई धेरै कष्ट हुने गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*