गुणस्तरहीन तेल बिक्री गर्ने क्वालिटी आयल रिफाइनरीको एक अर्ब ३९ करोडको व्यापार गायब

२५ भाद्र २०८१, मंगलवार १२:४४

काठमाडौँ । कब्रा जी समूहको स्वामित्वमा रहेको क्वालिटी आयल रिफाइनरी प्रालिले एक वर्षमा १ अर्ब ३९ करोड ८० लाख रुपैयाँको व्यापार गुमाएको छ। सन् २०२३ मा कम्पनीको कुल व्यापार ५ अर्ब ११ करोड रुपैयाँमा खुम्चिएको छ, जुन सन् २०२२ मा ६ अर्ब ४८ करोड ८४ लाख रुपैयाँ थियो।

काठमाडौँ महानगरपालिकाले गरेको अनुगमन र परीक्षणका क्रममा कम्पनीले उत्पादन गरेको तेलमा नेपाल सरकारले तोकेको पेरोक्साइड भ्यालु धेरै भएको पाइएको थियो, जसले गर्दा तेललाई खान अयोग्य ठहर गरिएको थियो। पेरोक्साइड भ्यालु बढी हुनु तेलको खराब गुणस्तरको संकेत मानिन्छ, जसले तेल पुरानो, अक्सिडाइज भएको, र स्वास्थ्यका लागि हानिकारक रहेको देखाउँछ।

महानगरपालिकाले मापदण्डमा नपरेको तेललाई तीन दिनभित्र फिर्ता ल्याउन र नष्ट गरिएको प्रमाणसहित उपस्थित हुन कम्पनीलाई पत्राचार गरेको थियो। यस घटनापछि कम्पनीले आफ्नो व्यापारमा ठूलो गिरावटको सामना गरेको छ। उपभोक्ताहरूको स्वास्थ्यमा जोखिम र उत्पादनमा गुणस्तरहीनताको कारण कम्पनीको ब्रान्डमा नकारात्मक असर परेको छ।

ग्राहकहरूले कम्पनीको उत्पादनमा असन्तुष्टि जनाउन थालेका छन्, जसका कारण बजारमा कम्पनीको प्रतिद्वन्द्वीहरूले उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदा ग्राहकहरू अन्य विकल्पतर्फ आकर्षित भएका छन्। यसले गर्दा कम्पनीको बिक्रीमा भारी कमी आएको छ।

कम्पनीको व्यापारमा आएको यस गिरावटको कारण वित्तीय स्थिति कमजोर बनेको छ। यसले अल्पकालीन कर्जाका लागि २ अर्ब ७५ करोड रुपैयाँको रेटिङ गराएको छ, जसमा केयर रेटिङ नेपालले एफोर रेटिङ दिएको छ। यो रेटिङले कम्पनीको वित्तीय जोखिमको उच्च सम्भावना र कम प्रतिफलको जोखिमलाई संकेत गर्दछ।

सन् २००४ मा स्थापना भएको क्वालिटी आयल रिफाइनरी प्रालि इडिबल आयलको प्रशोधनमा संलग्न छ। यसले वनस्पती घ्यू, भटमासको तेल, सन्फ्लावर तेल, पामोलिन, पाल्म, तोरीको दाना, ग्राउन्ड नट्स, कनए लगायतका विभिन्न प्रकारका तेलहरूको प्रशोधन गरी बिक्री गर्दै आएको छ। कम्पनीले अर्जेन्टिना, ब्राजिल, मलेसिया, इन्डोनेसियालगायतका देशहरूबाट कच्चा पदार्थ आयात गरी तेल प्रशोधन गर्छ र नेपाली बजारमा मात्र नभएर भारतमा पनि निर्यात गर्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*