सानिमा रिलायन्स लाइफद्वारा रोटरी इन्टरनेशनल डिस्ट्रिकलाई सहयोग

२५ भाद्र २०८१, मंगलवार ११:३०

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्तराष्ट्रिय सहयोग संस्था ‘रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२’ लाई पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

कम्पनीका अनुसार सहयोगी संस्था रोटरी इन्टरनेशनलको सहकार्यमा देशका विभिन्न भागमा सञ्चालन हुने ‘आधारभूत शिक्षा तथा साक्षरता’ कार्यक्रम मार्फत पिछडिएका वर्गको साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सहयोग गर्न सानिमा रिलायन्स र रोटरीबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सहमतिपत्रमा सानिमा रिलायन्सका तर्फबाट सञ्चालक समितिका अध्यक्ष रतन लाल केडिया र रोटरीका तर्फबाट अध्यक्ष राजेन्द्र मान शेरचनले हस्ताक्षर गरेका हुन् । यस कार्यक्रममा बीमा कम्पनीका तर्फबाट सञ्चालक भरतकुमार तोदी, सीईओ शिवनाथ पाण्डे र रोटरीका तर्फबाट अन्य पदाधिकारीहरूको उपस्थिति थियो ।

सहमति अनुसार बीमा कम्पनीले प्रदान गर्ने पाँच लाख मध्ये २.५ लाख शौचालय निर्माणका लागि र बाँकी रकम संस्थाका विभिन्न रोटरी क्लबहरू मार्फत देशका सामुदायिक तथा सार्वजनिक स्कूलहरूमा सञ्चालन हुने ‘टिच’ कार्यक्रम अन्तर्गत युवा साक्षरता प्रयोजनका लागि उपयोग हुनेछ ।

कार्यक्रममा बोल्दै अध्यक्ष केडियाले सानिमा रिलायन्स लाइफ समाजमै रहेर गरिने व्यवसायमा सफल हुन समाजलाई नै सफल बनाउनुपर्छ भन्ने मान्यतामा अघि बढेको र संस्थागत नागरिकको भूमिकामा सामाजिक विकासको विभिन्न क्षेत्रमा योगदान दिन सदैब तत्पर रहेको बताए । साथै ‘आधारभूत शिक्षा तथा साक्षरता’ कार्यक्रम मार्फत आधारभूत शिक्षा पनि नपाएका वर्गले शिक्षाको उज्यालो घाम देख्न पाउने विश्वास व्यक्त गरे ।

सानिमा रिलायन्सले १७० शाखा तथा उपशाखाहरू, ५० हजारभन्दा बढी अभिकर्ताहरू तथा १८ वटा योजनाहरू मार्फत जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म ९ लाख पचास हजारभन्दा बढी व्यक्तिले कम्पनीबाट जीवन बीमा सेवा प्राप्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*